| शनिबार, असार १२, २०८३

आँबुखैरेनीको ऐनापहरामा स्काइवाक सञ्चालनमा

तनहूँ र गोरखाको सीमानामा अवस्थित आँबुखैरेनी गाउँपालिका २ र ४ जोड्ने ऐनापहरामा स्काइ वाक व्यावसायिक रूपमा सञ्चालनमा आएको छ । पालिकाले १५ लाख रुपैयाँ लागतमा निर्माण गरेको स्काई वाकको शनिबार उद्घाटन गरिएको हो ।

उद्घाटन भएपछि गाउँपालिकाले प्रतिव्यक्ति रु २५० टिकट दरमा पर्यटकलाई स्काई वाकको प्रयोग गर्न दिन थालेको छ । सो स्काईवाक गत जेठ दोस्रो हप्तादेखि निर्माण कार्य सुरु गरिएको थियो । ऐनापहरालाई पर्यटन हब बनाउने उद्देश्यसहित गाउँपालिकाले स्काइवाक निर्माण गरिएको खैरेनी विकास बोर्डका सदस्य सचिव किशोर सुवेदीले जानकारी दिए ।

‘गत जेठको अन्तिम सातादेखि स्काई वाक निर्माण कार्य सुरु गरिएको हो । अहिले निर्माण सम्पन्न भयो छ’, उनले भने, ‘खोलाको सतहदेखि ८७ मिटर उचाइमा रहेको स्काई वाक ५० मिटर लामो रहेको छ । प्रत्येक पाइलाको बीचमा एक फिट खालि रहेको छ । साहसिक पर्यटनका लागि यो अत्यन्त उपयुक्त रहेको छ ।’ स्काइ वाकमा हिँड्दा हरियाली, शान्त पहरा र खुला आकाशको बीचमा एक अनौठो साहसिक अनुभव गर्न सकिने सुवेदीले बताए । सुरक्षा उपायसहितको उच्च गुणस्तरीय निर्माण भएकाले डर मान्नुपर्ने अवस्था छैन ।’

ऐना पहरालाई आँबुखैरेनी गाउँपालिकाले पर्यटकीय केन्द्रका रुपमा विकास गर्ने लक्ष्य राखेको छ । नयाँ जनप्रतिनिधि आएपछि यहाँ धेरै आकर्षक संरचनाहरु निर्माण गरेको वडाअध्यक्ष दिनेश केशीले बताए । ‘गाउँपालिकाले यसलाई पर्यटकीय केन्द्र बनाउने लक्ष्य राखेर दुई बर्षदेखि यहाँ विभिन्न पूर्वाधारहरु निर्माण गरेको छ’, उनले भने, ‘हामीले यहाँ गणेशको मूर्ति, हात्तीको मूर्ति, आमा छोरीको मूर्ति, जलपरीको मूर्ति, कार्यक्रम गर्ने ठूलो चौर, स्वीमिङ पुल निर्माण गरेका छौँ । सबै गरेर अहिलेसम्म दुई करोड रुपैयाँ खर्च भइसकेको छ ।’

चार बर्षभित्र लागत असुल गरिसक्ने लक्ष्य रहे पनि दुई बर्षभित्रै मुनाफा आर्जन गर्ने उनले बताए । ‘यो आर्थिक बर्षमात्र हामीले ८७ लाख आम्दानी गरिसक्यौं’, उनले भने, ‘चार बर्षभित्र लागत उठाएर मुनाफा आर्जन गर्ने लक्ष्य थियो । दुई बर्षभित्र पूरा हुने भयो ।’ पृथ्वीराजमार्गसँगै जोडिएको यस ठाउँ पर्यटकको घुइँचो लाग्ने गर्छ । दैनिक एकहजारदेखि पन्द्रसय जनासम्म पर्यटक यहाँ आउने सुवेदी बताउँछन् ।

‘गाउँपालिकाले यहाँ टिकट काट्ने कर्मचारी, सरसफाइ कर्मचारी, सुरक्षागार्ड राखेका छौँ’, आँबुखैरेनी विकास बोर्डका सदस्य सचिव सुवेदी भन्छन्, ‘क्याफ्टेरिया बनाएर भाडामा लगाएका छौं । यहाँ प्रवेश गर्ने नेपालीसंग ५० रुपैयाँ, सार्क मुलुककासंग एकसय रुपैया र सार्कभन्दा बाहिरबाट आएकाहरुसंग प्रतिव्यक्ति पाँचसय रुपैयाँ असुल गर्छौँ ।’ दैनिक १५ हजारदेखि २० हजार रुपैयाँ आम्दानी हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्