| सोमवार, कार्तिक २३, २०८३

जनप्रतिनिधि नै विदेश पलायन हुनु दुखद

गोरखाका दुईजना जनप्रतिनिधिहरु विदेश पलायन भएका छन् । सिरानचोक गाउँपालिका वडा नं. ५ का वडाअध्यक्ष ठानेश्वर पोखरेल र धार्चे गाउँपालिका ६ का वडाअध्यक्ष धनकुमार घले विदेश पलायन भएका हुन् ।

उनीहरु बिगत एकबर्षदेखि पलायन भएका हुन् । ठानेश्वर पोखरेल अमेरिका र धनकुमार घले यूके गएका हुन् । उनीहरु विदेशिएपछि सेवाग्राहीहरु जनप्रतिनिधिको खोजी गर्दै गाउँपालिका धाएका थिए । गाउँपालिका धाए पनि उनीहरु पुन स्वदेश वा आफ्नो वडा नफर्किएपछि वडाबासीहरु निराश भएका छन् ।

वडाबासी(मतदाता)हरुले विदेश जाने प्रक्रियामा सघाउन पु¥याउनका लागि वा कागजात बलियो बनाउनका लागि अत्याधिक मत दिएर जनप्रतिनिधि बनाएका होइनन् । उनीहरुले त प्रतिस्पर्धीभन्दा सक्षम मान्छेलाई चुनेर जिताएका हुन् । जनप्रतिनिधिहरुले पनि आफ्ना मतदाताको मनोभावलाई कुल्चिएर सम्पर्कबिहिन हुनु राम्रो होइन । यसले जनमतलाई अनादर गरेको ठहर गर्दछ ।

वैकर्सहरु पनि जागिर छाडेर विदेशिएका छन्, निजामति कर्मचारी(अधिकृत तहसम्म पनि), शिक्षकहरु पनि विदेशिएका छन् । सेना, प्रहरी पनि विदेशिएका छन् । उनीहरु विदेशिएको धेरै आश्चर्यको कुरा होइन, जति जनप्रतिनिधि विदेशिएको र उतै सम्पर्कबिहिन भएको आश्चर्यको कुरा हो । जनप्रतिनिधि भनेको स्थानीय सरकार हो । सरकार नै वैदेशिक रोजगारीमा जान थालेपछि सर्वसाधारण नागरिकको सोचाइ, मनस्थिति, मनोविज्ञान के हुन्छ ? के सर्वसाधारण नागरिक स्वदेशमा बस्न, स्वदेशमा लगानी गर्न इच्छुक हुन्छन् ?

जनप्रतिनिधि भनेको रोलमोडल हुनुपर्छ । सर्वसाधारण नागरिकको आदर्श पात्र हुनुपर्छ । तर गोरखाका दुई वडाका अध्यक्षहरुले यो छवि धुमिल बनाउनु दुख लाग्दो विषय हो । यसमा दुख मान्नु शिवाय अरु केही गर्न सकिँदैन ।

प्रतिक्रिया दिनुहोस्