| मङ्लबार, कार्तिक २४, २०८३

मर्निङवाक गएका अधिवक्ता छ महिनादेखि सम्पर्कबिहिन, प्रशान्त सिलवाल पनि बेखबर

गोरखा घर भई काठमाडौंमा कार्यरत एक अधिवक्ता बिगत ६ महिनादेखि सम्पर्कबिहिन भएका छन् । गोरखा नगरपालिका ३ स्थायी घर भई काठमाडौं बालाजु बस्दै आएका ६७ बर्षका अधिवक्ता शंकरप्रसाद अर्याल बिगत ६ महिनादेखि सम्पर्कबिहिन भएका परिवारजनले जनाएका छन् ।
‘बिहान आठ बजे मर्निङवाकमा निस्कनु भएको हो । तर आजसम्म फर्कनु भएन’, अर्यालकी पत्नी सुभद्रा अर्यालले भनिन्, ‘फर्कनुहोला, फर्कनुहोला भनेर कुर्दाकुर्दै पाँच महिना बितेर ठ्याक्कै छ महिना लाग्यो । फोन सम्पर्क गरौँ भने मोबाइल पनि घरमै छोड्नु भएको रहेछ ।’ राम्रो, नराम्रो केही पनि खबर पाउन नसकेको उनले बताइन् ।

खोजतलासका सबै उपाय अपनाइसक्दा पनि फेला पार्न नसकेकाले आफन्तजनहरु विक्षिप्त भएको उनको भनाइ छ । ‘सामाजिक सञ्जालहरुमा सूचना गरिएको छ । इष्टमित्र, उहाँको साथीभाइ सबैतिर सोधखोज गरेका छौँ । काठमाडौं, ललितपुर, भक्तपुर, गोरखा, तनहूँ, लम्जुङ, चितवन, नवलपरासीका सबै प्रहरी कार्यालयमा पनि खबर गरेका छौं’, उनले भनिन्, ‘शुभ, अशुभ केही खबर आएको छैन ।’ भेट्नुहुने, फेलापार्नु हुनेहरुले खबर गरेर सहयोग गरिदिन उनले अनुरोध गरेकी छिन् ।
त्यसैगरी सिरानचोक गाउँपालिका ८ जौबारीका प्रशान्त सिलवाल पनि बिगत छ दिनदेखि सम्पर्कबिहिन भएका छन् । काठमाडौंमा व्यापार गरी बस्ने ४२ बर्षका सिलवाल एकाएक घरैबाट सम्पर्कबिहिन भएका उनका भाइ विनय सिलवालले जानकारी दिए ।
उनको मोबाइल स्वीच अफ छ । सम्पर्कबिहिन भएपछि आफन्तजनले सामाजिक सञ्चालमार्फत तथा विभिन्न जिल्लाका प्रहरी कार्यालयहरुमा खोजी गरिदिन अनुरोध गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्