
बजार अनुगमन : तीन व्यवसायी कारबाहीमा, दुईको मुद्दा चल्दै
जिल्ला प्रशासन कार्यालय गोरखाले जिल्ला सदरमुकामको तीन खाद्य व्यवसायीहरुलाई कारबाही गरेको छ । कार्यालयले मंगलबार बजार अनुगमनको क्रममा अखाद्य बस्तु बिक्री गर्ने दुई व्यवसायीहरुलाई रु ५–५ हजार र एकलाई रु १० हजार जरिवानासहित कारबाही गरेको हो ।
अखाद्य चुक अमिलो र फुड कलर प्रयोग गरिएको अखाद्य बस्तु बिक्री गर्दै आईरहेका ती व्यवसायीहरुलाई तत्काल नगद जरिवानासहित कारबाही गरिएको अनुगमन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए । यस्तै, खाद्य अनुज्ञापत्र (लाइसेन्स) नलिई व्यवसाय संचालन गरेको पाउरोटी उद्योग र भुजा प्याकेजिङ उद्योगलाई कारबाहीको प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।
कार्यालयले जिल्ला सदरमुकामस्थित नयाँ बजार क्षेत्रको पाउरोटी उद्योग, खाजा घर, तरकारी तथा किराना पसल, भुजा उद्योग र कुटानी पिसानी उद्योग गरी नौँ वटा पसलहरुमा अनुगमन गरेको थियो । जसमध्य अधिकांश ठाउँमा म्याद गुज्रेका सामाग्रीहरु भेटिएको, सरसफाई नगरेको, मुल्य सूची नराखेको, बिलको प्रयोग नगरेको, अखाद्य बस्तु बिक्री गरेको र दर्ता बिना नै पसल संचालन गरेका पाइएको सहायक प्रजिअ बरालको भनाइ छ ।
अनुगमनको क्रममा बजारमा भुक्याएर बिक्री वितरण गर्दै आएको एसिड पानीको २० लिटर चुक अमिलो नष्ट गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, दमौलीका प्रमुख ज्योती आचार्यले बताए । साथै, चटपटमा प्रयोग गरिने फुट कलर पनि नष्ट गरिएको उनले बताएका छन् । ‘यस्ता अखाद्य बस्तु बिक्री वितरण नगर्न व्यवसायीहरुलाई चेतावनी दिएका छौँ तर उपभोक्ता आफै पनि सचेत हुन जरुरी छ’, उनले भने ।
सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराललको नेतृत्वमा सम्पन्न बजार अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, दमौलीका प्रमुख ज्योती आचार्य, उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्श, पत्रकार, प्रहरी लगायतको सहभागिता रहेको थियो ।




