
वन क्षेत्र मास्दै सडक खन्दै
शिव उप्रेती ।
अजीरकोट गाउँपालिका १ घ्याच्चोकमा वन क्षेत्र मासेर सडक निर्माण गरिएको छ । सडक निर्माण उपभोक्ता समितिले घ्याच्चोकको वेशी, दरौंदीको किनारदेखि वन क्षेत्र मासेर करिब एक किलोमिटर सडक निर्माण गरेको हो ।
दरौंदी बारपाक जलविद्युत आयोजनाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत स्थानीय उपभोक्ता समितिलाई बुझाएको रकमबाट सो सडक निर्माण गरिएको हो । सडक निर्माण गर्दा त्यहाँको सरकारी वनबाट दर्जनभन्दा धेरै रुखहरु अनाधिकृत रुपमा ढलाइएको छ ।
जलविद्युत आयोजनाले सो उपभोक्ता समितिलाई सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत १७ लाख रुपैयाँ उपलब्ध गराएको थियो । समितिले सो रकमले वन क्षेत्रभित्र सडक निर्माण गरेको हो । वन क्षेत्र मासेर सडक निर्माण गरेपछि वारपाक सवडिभिजन कार्यालयले सो काम रोक्न निर्देशन दिएको छ । गत जेठ अन्तिम साता वन सवडिभिजन कार्यालयले सो काम रोक्न आदेश दिएको हो । साथै कार्यालयले त्यहाँ क्षति भएका रुखहरुमा टाँचा लगाएको छ ।
‘त्यहाँ अनाधिकृत रुपमा वन फँडानी गरेर सडक निर्माण गरेपछि हामीले काम रोक्न भन्यौँ र रुखमा टाँचा लगाएका छौँ’, सवडिभिजन प्रमुख अर्जुन अछामीले भने, ‘त्यसलाई अब कसरी कारबाही गर्ने भन्ने बारे छलफल गर्दैछौँ ।’ जेठ अन्तिम सातादेखि रुख नियन्त्रणमा लिए पनि कार्यालयले कुनै कारबाही प्रक्रिया भने अघि बढाएको छैन । ‘असार मसान्तको चापले गर्दा कारबाही प्रक्रिया अघि नबढाइएको हो । साउन लागेपछि कारबाही प्रक्रिया अघि बढाउँछौँ’, उनले भने ।
वडा अध्यक्ष मनोज गुरुङले भने सबै गाउँलेका लागि हित हुने काम गर्दा वन सवडिभिजन कार्यालयले काम रोकेको जनाएका छन् । ‘त्यो कुनै एकजनाका लागि होइन, सबै गाउँलेलाई अत्यन्त आवश्यक पर्ने बाटो बनाउन लागेका थियौँ । कानूनी प्रक्रिया पु¥याउने क्रममा केही त्रुटी भएको हुनसक्छ । कानूनको धज्जी उँडाउने उद्देश्यले गरेका होइनौँ’, उनले भने, ‘करिब पाँचसय मिटर खनेपछि काम रोकिएको छ । अहिले बर्खा पनि लागेको छ । अब कसरी अगाडि बढ्ने भन्ने कुरा बर्खा सकिएपछि थाहा होला ।’
वन डिभिजन कार्यालय गोरखाले सो विषयमा सवडिभिजन कार्यालयले लिखित जानकारी गराएपछि अनुसन्धान तथा कारबाही प्रक्रियामा जाने जनाएको छ । यसअघि सो हाइड्रोपावर निर्माणको ट्रान्समिशन लाइनको रुट बनाउने क्रममा वन क्षेत्रमा क्षति भएको भन्दै डिभिजन वन कार्यालयले हाइड्रोपावर कम्पनीविरुद्ध मुद्दा दायर गरेको थियो ।
वन क्षेत्रका १५५ वटा रुख अनाधिकृत रुपमा काटिएको भन्दै वन कार्यालयले आयोजनाको नाममा जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । जिल्ला अदालतले सो हाइड्रोपावर कम्पनीका जनसंपर्क अधिकृत कृष्ण पन्थीलाई २४ दिनसम्म नियन्त्रणमा लिई धरौटीमा रिहा गरेको डिभिजनल वन अधिकृत मदन साण्डिल्यले जानकारी दिए ।




