
आरुघाटले ल्यायो ६१ करोडको अनुमानित बजेट
आरुघाट गाउँपालिकाले आर्थिकबर्ष २०८२/०८३ का लागि ६१ करोड रुपैयाँको अनुमानित बजेट घोषणा गरेको छ । मंगलबार पालिकाले अनुमानित ६१ करोड ६० लाख ५० हजार रुपैयाँको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
पालिकाले आन्तरिक आयबाट ९५ लाख प्राप्त गर्ने अनुमान गरेको छ । त्यस्तै संघीय सरकारको वित्तीय समानिकरण अनुदानबाट १२ करोड ७८ लाख रुपैयाँ प्राप्त गर्ने अनुमान गरेको छ । राजस्व बाँडफाँटबाट ९ करोड ३४ लाख, सशर्त अनुदानतर्फ २६ करोड ८३ लाख, समपुरक अनुदानतर्फ तीन करोड ५२ लाख र विशेष अनुदानतर्फ ६८ लाख आम्दानी गर्ने पालिकाको लक्ष्य छ ।
त्यस्तै प्रदेश सरकारको वित्तीय समानिकरणतर्फ एक करोड ७४ लाख ६५ हजार, प्रदेश सरकारको राजस्व बाँडफाँटतर्फबाट ९५ लाख ६६ हजार, समपुरक अनुदानतर्फबाट ६० लाख, विशेष अनुदानतर्फबाट ४० लाख रुपैयाँ प्राप्त गर्ने पालिकाको अनुमानित बजेटमा उल्लेख छ ।
चालु आर्थिक बर्ष २०८१/०८२ बाट वैंक मौज्दात तीन करोड ७७ लाख ५९ हजार रहने पनि पालिकाको अनुमान छ ।
सो रकममध्य पालिकाले आर्थिक विकासतर्फ दुई करोड २० लाख, सामाजिक विकासतर्फ पाँच करोड १० लाख, भौतिक पूर्वाधार विकासतर्फ आठ करोड २४ लाख रुपैयाँ खर्च गर्ने अनुमान गरेको छ ।
त्यसैगरी सो पालिकाले विपद व्यवस्थापन, वन तथा वातावरण संरक्षण गर्न ४० लाख खर्च हुने अनुमान गरेको छ । वडास्तरीय पूर्वाधार विकास लगायत अन्य आवश्यक विकास कार्यक्रम सञ्चालन गर्न तीन करोड ४० लाख रुपैयाँ विनियोजन गरेको छ । गतबर्ष सञ्चालन भएका तर भुक्तानी हुन नसकेका योजनाका लागि भुक्तानी गर्न एक करोड ४८ लाख रुपैयाँ विनियोजन गरेको जनाएको छ ।




