
२५ लाख खर्चेर उत्तरी गोरखाको मुख्य पदमार्गको स्तरोन्नती
उत्तरी गोरखाको चुम र नुव्री उपत्यका जाने मुख्य पदमार्ग स्तरोन्नती गरिएको छ । साँघुरो र जोखिमयुक्त स्थानमा तारजाली सहित स्तरोन्नती गरिएको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) ले जनाएको छ । छेकम्पारको चौरीखर्क क्षेत्र हुदैँ चुम उपत्यका (छेकम्पार) जाने पदमार्ग, नाग्चेतबाट फिलिम र बिहीबाट गप जाने मुख्य पदमार्ग स्तरोन्नती गरिएको आयोजना प्रमुख सन्तोष शेरचनले बताए ।
‘ती ठाउँहरुमा बाटो फराकिलो बनाएर फलामे पोलसहितको तारजाली हालेका छौ,’ उनले भने, ‘गत बर्ष बाढीले पहिरो गएको चुम्लिङमा तलबाटै रिटर्निङ वाल उठाएर बलियो बनाएका छौ ।’ चौरीखर्क क्षेत्र हुदैँ चुम उपत्यका जाने पदमार्ग स्तरोन्नतीका लागि ६ लाख ९० हजार रकम खर्च गरिएको उनले बताए । त्यस्तै नाग्चेतबाट फिलिम जाने पुलसम्मको पदमार्ग स्तरोन्नतीका लागि ७ लाख ९८ हजार र बिहीबाट गप जाने पदमार्ग स्तरोन्नतीका लागि करिव ७ लाख खर्च भएको आयोजनाले जनाएको छ ।
‘चुम्लिङमा गत बर्ष बाढी गएको ठाउँमा एक लाख ५० हजार खर्चेर तलैदेखि रिटेनिङ वाल लगाएका छौ, पहिरो जोखिममा परेका घरहरु सुरक्षित भएका छन्,’ आयोजना प्रमुख शेरचनले भने । त्यस्तै नाग्चेतमा फोहोर व्यवस्थापनका लागि डम्पिङ साइट पनि निर्माण गरिएको बताइएको छ । १ लाख ५० हजार खर्चेर डम्पिङ साइट निर्माण गरिएको आयोजनाले जनाएको छ । आयोजनाको आर्थिक सहयोग र गाउँपालिकाको साझेदारीमा उक्त काम भएको हो । पदमार्ग स्तरोन्नती भएसँगै मनास्लु क्षेत्र र छेकम्पार आउने पर्यटकका लागि आउजाउमा निकै सहज हुने अपेक्षा गरिएको छ ।




