| मङ्लबार, कार्तिक २४, २०८३

भोटेकोशीको बाढीमा हराउने गोरखाको को ?

गत असार २४ गते रसुवा क्षेत्रमा परेको अविरल बर्षापछि भोटेकोशी तथा त्रिशुलीको मुहान क्षेत्रतिर धेरै ठूलो बाढी आयो । बाढीले तातोपानी नाकाबाट तिब्बत प्रवेश गर्ने मितेरी पुल बगायो । तिब्बती बजारबाट सामान ल्याएर पार्किङ गरिराखेका कैयौँ कन्टेनरहरु बगायो । कन्टेनर चालकहरु डुबे, पुरिए वा बगेर बेपत्ता भए ।

उनीहरुमध्य कैयौँको शव भेटिएको छ । शव रसुवा जिल्ला अस्पतालमा राखिएको छ । शव पहिचान गर्न र दाबी गर्न आउन प्रहरी, प्रशासनले मृतकका आफन्तजनलाई आग्रह गरेको छ । उनीहरुमध्य गोरखाका दुईजना रहेको देखिन्छ ।
गोरखाको पालुङटार नगरपालिका ६ का दिलबहादुर तामाङ र धनबहादुर विश्वकर्मा पनि त्यहाँ बेपत्ता भएकामध्य पर्छन् भनिएको छ । उनीहरु त्यहाँ पुरिएका कन्टेनरका चालक थिए भनिएको छ ।

भेटिएका शवमध्य विक र तामाङको शव सताखत गरी दाबी गर्न आउन प्रहरीले आव्हान गरेको छ । तर अहिलेसम्म कोही पनि पहिचान गर्न र दाबी गर्न आएका छैनन् । पालुङटार नगरपालिका ६ का जनप्रतिनिधि तथा सामाजिक अगुवाहरुलाई पनि यसबारे जानकारी गराई शव पहिचान गरी दाबी गर्न आउन भनिएको छ ।

तर त्यस क्षेत्रबाट कोही व्यक्ति हराएको बारे पनि जनप्रतिनिधि तथा सामाजिक अगुवाहरु जानकार छैनन् । त्यस क्षेत्रबाट कोही पनि बेपत्ता तथा सम्पर्कबिहिन नभएको स्थानीयबासी पनि बताउँछन् । कोही त्यस्ता पनि हुनसक्छन् कि अझैसम्म उनीहरुको आफन्त बेपत्ता भइरहेको बारे बेखबर भइरहने । तसर्थ धेरै भन्दा धेरै प्रचार प्रसार गरी कोही बेपत्ता भइरहेको भए रसुवा जिल्ला अस्पताल पुगेर शव पहिचान र दाबी गर्न सूचित गर्नु आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्