| मङ्लबार, कार्तिक २४, २०८३

ऐना पहराको स्काइवाकबाट गोरखाले सिक्नु पर्ने पाठ

आँबुखैरेनी गाउँपालिका वडा नं. २ र ४ जोड्ने ऐना पहरामा स्काइ वाक निर्माण गरिएको छ । गाउँपालिकाको १५ लाख रुपैयाँ लागतमा स्काइ वाक निर्माण गरिएको हो । सो स्काइ वाक आउँदो साउनदेखि नै सञ्चालन गर्ने गाउँपालिकाको लक्ष्य छ ।
सो गाउँपालिकाले ऐना पहरालाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्ने लक्ष्य राखेको छ ।

यसअघि पनि सो ठाउँमा गणेशको, गौतम वुद्धको, हात्तीको, आमा छोरीको मूर्ति, जलपरीको मूर्ति आदि निर्माण गरेर पर्यटक आकर्षण गर्ने प्रयास गरिरहेको छ । साथै यहाँ स्विमिङ पुल, क्याफ्टेरिया, कार्यक्रम गर्ने चौर पनि निर्माण गरेको छ । यी विभिन्न संरचनाका लागि पालिकाले दुई करोड रुपैयाँ खर्च गरिसकेको छ ।

पालिकाले यहाँ आउने पर्यटकसंग शुल्क असुल गरी आयआर्जनको माध्यम पनि बनाएको छ । पालिकाले यहाँ सुरक्षा गार्ड, सरसफाइ कर्मचारी, टिकट काट्ने कर्मचारी परिचालन गरेको छ । पालिकाका अनुसार यहाँ सिजन, अफसिजनमा यहाँ दैनिक पन्द्रसयदेखि दुई हजारजनासम्म पर्यटक अवलोकनका लागि आउने गर्दछन् । उनीहरुमध्य स्वदेशीसंग टिकटबापत रु ५० र विदेशीबाट रु १०० असुल गर्ने गरेको छ ।

यसरी चालु आर्थिक बर्ष ८७ लाख रुपैयाँ आम्दानी गरिसकेको छ । चार बर्षभित्र लागत असुल उपर गरिसक्ने लक्ष्य राखेको पालिकाले एकै बर्ष ८७ लाख आम्दानी गर्नु उत्साहप्रद छ । आँबुखैरेनी गाउँपालिकाले गरेका हरेक क्रियाकलाप निकै प्रसंसनीय छन् । उसले गरेका कार्यक्रम छिमेकी पालिकाहरुका लागि पनि निकै अनुकरणीय छन् । तर छिमेकी पालिकाहरु यसरी कार्यक्रम गर्न त्यति सफल भएको देखिँदैन । उनीहरुले आँबुखैरेनीबाट सिक्नु पर्ने धेरै देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्