| मङ्लबार, कार्तिक २४, २०८३

पालुङटार एयरपोर्टमा जहाज उडोस्

पुष्पकमल दाहाल प्रचण्डले समेत चुनावी एजेण्डा बनाएको पालुङटार एयरपोर्टमा यो बर्ष पनि सरकारबाट कुनै बजेट परेन । अव यो एयरपोर्ट गौचरनमै सिमित हुने भयो भन्ने यसले प्रष्ट पार्छ । एयरपोर्ट संचालन गर्ने आश्वासनसहित धेरै नेताहरुले त्यस क्षेत्रबाट चुनाव पनि जितिसकेका छन् । तर एयरपोर्टको अवस्था भने उस्तै छ ।

उक्त एयरपोर्टले जहाज अवतरण र उडान भर्न नसकेको करिव ४४ बर्ष भइसक्यो । काठमाण्डौ, पोखरा र भरतपुर उडान भर्ने एयरपोर्ट अहिले गौरचनमा परिणत भएको छ । पालुङटारलाई तनहूँ, लम्जुङ र गोरखाको केन्द्रको रुपमा बिकसित गर्ने सम्भावना बोकेको एयरपोर्ट बर्षाैदेखि संचालनमा नआउँदा राज्यले नै घाटा व्यहोर्नु परेको कुरा राज्यले बुझेकै होला । यथाशिघ्र एयरपोर्ट संचालनमा ल्याउन सके जिल्लाको मात्र होइन राज्यको अर्थतन्त्र सुधारमा पनि यसले सकारात्मक भूमिका निर्वाह गर्छ भन्नेमा दुई मत छैन ।

पुनः संचालन गर्ने हेतुले एयरपोर्ट स्तरोन्नतीका लागी बजेट विनियोजन भएर केही बर्षअघि काम पनि अघि बढ्यो । तर जग्गा स्वामित्वकै विवाद बल्झिएपछि कामले निरन्तरता पाउन सकेन । विवाद समाधानका लागी सम्बन्धित निकाय र सरोकारवालाहरुको पहलकदमी देखिएन । एयरपोर्ट संचालनमा ल्याउन सके जिल्लाको अर्थतन्त्र सुधार राम्रै हुने देखिन्छ ।

दैनिक जहाज उडान भर्न नसकेपनि यसलाई अल्ट्रालाइट, प्याराग्लाइडिङ, स्काईडाइभिङको जोन बनाएर पर्यटन प्रवद्र्धन गर्न सकिन्छ । जिल्लाको अर्थतन्त्रमा ठुलै प्रभाव पार्ने यस एयरपोर्ट यथाशिघ्र संचालनमा ल्याउन सके जिल्लालाई मात्र होइन समग्र राज्यलाई फाइदा पुग्छ । तर राज्यकै वेवास्ताका कारण यो एयरपोर्ट ओझेलमा पर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्