
गोरखाका स्थानीय तहहरुले ल्याए ६ अर्ब ७३ करोडको बजेट
आगामी आर्थिक वर्ष २०८२/८३ का लागि जिल्लाका स्थानीय तहहरुले ६ अर्ब ७३ करोड ३४ लाखको अनुमानित बजेट ल्याएका छन् । केही दिनअघि नीति तथा कार्यक्रमसँगै उनीहरुले बजेट प्रस्तुत गरेका हुन् ।
जिल्ला सदरमुकामसमेत रहेको गोरखा नगरपालिकाको आगामी वर्षको बजेट झन्डै एक अर्ब रहेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट ९९ करोड ३१ लाख रहेको गोरखा नगरपालिकाले जनाएको छ । पालुङटारको आगामी वर्षको बजेट ८४ करोड १३ लाख ६३ हजार रुपैँया रहेको छ । पालिकाले कृषिलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ ।
गोनपा र पालुङटारपछि सबैभन्दा धेरै बजेट सिरानचोक गाउँपालिकाले ल्याएको छ । पालिकाले आगामी आर्थिक वर्षको अनुमानित बजेट ६९ करोड ९३ लाख रुपैँया रहेको बताएको छ । गण्डकी गाउँपालिकाको बजेट ६४ करोड ३० लाख रहेको छ । यस्तै, भिमसेनथापा गाउँपालिकाको अनुमानित बजेट ६१ करोड ३२ लाख रहेको छ ।
आरुघाट गाउँपालिकाको बजेट ६० करोड २ लाख ९० हजार रहेको छ । आगामी आर्थिक वर्षका लागी जिल्लाको सहिदलखन गाउँपालिकाले ५९ करोड ८२ लाख रुपैँया बजेट ल्याएको छ । अजिरकोट गाउँपालिकाको बजेट ४६ करोड ८५ लाख २९ हजार रहेको छ ।
विकट मानिने उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको बजेट ४६ करोड ४ लाख र धार्चे गाउँपालिकाको बजेट ४७ करोड ९५ लाख रहेको छ । पालिकाहरुले संघ तथा प्रदेश सरकारको अनुदान र आफ्नो आन्तरिक आयको आधारमा बजेट ल्याएका हुन् ।




