| मङ्लबार, कार्तिक २४, २०८३

विपदको पुर्वतयारी आवश्यक

विपदका घटनाबाट बर्षेनी अकालमै मानिसहरुले ज्यान गुमाउने गरेका छन् । घाइते हुनेहरुको संख्या उस्तै । धनजनको क्षतिको त लेखाजोखा नै हुदैन । बर्षेनी सामना गर्नुपर्ने यस्ता विपदको पुर्व तयारीमा भने हामी सधै चुक्ने गरेका छौ ।

हो विपदलाई रोक्न सकिदैन तर, यसबाट हुने क्षतिलाई न्यूनिकरण भने अवश्य गर्न सकिन्छ । बाढी, पहिरो, आगलागी जस्ता विपद निम्तिनुमा हामी मानव जाति बढी जिम्मेवार छौ भन्दा अन्याय नहोला । जथाभावी वनजंगल फडानी, प्रकृतीको दोहन, अवैध उत्खनन्, खेतीयोग्य जमिन प्लटिङजस्ता मानविय क्रियाकलापले नै विपदलाई प्रश्रय दिइरहेको छ । तर यसको कुनै ठोस नीति र योजना सरकारसँग छैन ।

भौगोलिक बनावटको हिसावले गोरखा बाढी पहिरो जस्ता विपदको उच्च जोखिममा देखिन्छ । केही घटनाहरु पनि बर्षेनी दोहोरिरहेका छन् । कतै पहिरो त कतै बाढीले ज्यान गुमाउनु परेको तितो यथार्थ हामीमाँझ ताजै छ । जिल्लामा विपदको पुर्व तयारी भनेको कहिलेकाही प्रशासन कार्यालयको अगुवाइमा हुने विपद व्यवस्थापनको बैठकमात्र हो । त्यही पनि औपचारिकताका लागि ।

विपदको सामना गर्न न जिल्लामा आवश्यक दक्ष जनशक्ति छन् न उद्धारका पर्याप्त सामग्री । बैठकमा हुने ठुला ठुला गफले विपदको सामना गर्न सकिदैन । विपदको समयमा उद्धारका लागि आवश्यक जनशक्ति र उद्धार सामग्रीको व्यवस्थापनमा बिशेष जोड दिनु जरुरी छ ।

विपद व्यवस्थापनका लागि ठोस् नीति र कार्यक्रम बनाएर लागू गर्नसक्नुपर्छ । पहिरोको उच्च जोखिममा रहेका वस्तीहरुको उचित स्थानमा स्थानान्तरण गर्न सक्नुपर्छ । विपदजन्य घटना र यसको क्षति न्यूनिकरणका लागि सबैले हातेमालो गर्दै अघि बढ्नु पनि उत्तिकै जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्