| मङ्लबार, कार्तिक २४, २०८३

मनिका परियार न्याय माग्दै सदरमुकाममा

सहिदलखन गाउँपालिका वडा नं–१ बक्राङकी २१ वर्षिय मनिका परियार यतिबेला न्याय माग्दै जिल्ला सदरमुकाम आइपुगेकी छिन् । यही जेठ १० गते प्रदेश अस्पताल गोरखामा छोरा जन्माएकी मनिकाको श्रीमान मिलन श्रेष्ठ हाल बेपत्ता छन् । गत फागुनदेखि बेपत्ता भएका धादिङको गजुरी गाउँपालिका–२ छेपाङका मिलनलाई छिटोभन्दा छिटो खोजी गरेर कानुनी दायरामा ल्याउनुपर्ने मागसहित मनिका सदरमुकामसम्म आइपुगेकी हुन् ।

‘बाबु डेढ महिनाको भईसक्यो तर अहिलेसम्म न्वारन गर्न पाएका छैनौँ’, उनले भनिन्, ‘मसँग बिहे गरेर बच्चा जन्मिएपछि छोडेर गयो । अहिले अर्को केटी लिएर बेपत्ता छ ।’ श्रीमान मिलन श्रेष्ठको परिवारले आफूलाई दलित भनेर अस्वीकार गरेको उनको आरोप छ ।

मनिकाले मिलनसँग २०८० मंसिरमा बिहे गरेकी थिइन् । आफूहरुले मिलनको परिवारलाई बाहुनी भनेर भुक्याएर बिहे गरेको मनिका बताउँछिन् । ‘मैले थर नढाटौँ भनेको हुँ तर मिलनले मानेन । मलाई बाहुनी भनेर, गाउँले सबै बोलाएर बिहे ग¥यो । बिहेपछि उसको परिवारलाई मेरो थर थाहा भयो अनि मलाई अस्वीकार गरे । बच्चा भएपछि श्रीमानले पनि अस्वीकार ग¥यो’, उनले भनिन् । हाल उनी बक्राङस्थित छिमेकी काकीको अस्थाई टहरोमा बस्दै आएकी छिन् ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी भरतबहादुर विकले मिलन श्रेष्ठको खोजीकार्य भईरहेको बताएका छन् । एसपी विकका अनुसार प्रहरीले मिलन र मनिकाको परिवारलाई बोलाएर आवश्यक छलफल समेत गरिरहेको छ । ‘केटापक्षको परिवार भने सम्पर्कमा आइसक्नुभएको छ । हामीले दुवै पक्षलाई राखेर आवश्यक छलफल गरिरहेका छौँ । मिलनको पनि खोजीकार्य भईरहेको छ’, उनले भने । प्रहरीले पीडितपक्षको सहजतालाई प्राथमिकतामा राखेर आफ्नो कारबाही अघि बढाएको उनको भनाई छ ।

जिल्ला समन्वय समितिकी उपप्रमुख लिला परियारले जातियताको आधारमा बच्चासहितको आमालाई अस्वीकार गर्नु निकै दुखद रहेको बताएकी छिन् । ‘हामी अहिले ठुल्ठुला विकास निर्माणका कुराहरु गर्छौँ तर अझैँपनि जातियताकै आधारमा विभेद सहनुपर्ने अवस्था छ’, उनले भनिन् । मनिकाको हकमा आफूले गर्नुपर्ने कामहरु गरिरहेको उनले जनाइन् । उनी भन्छिन्, ‘मनिकाको अवस्था निकै नाजुक छ । मैले पालिका अध्यक्ष, उपाध्यक्ष र अन्य सरोकारवाला निकायहरुसँग आवश्यक छलफल गरेर अब के गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिरहेको छु ।’

अन्तरजातिय विवाहपछिको धोकामा परेकी मनिकाले भने श्रीमान मिलन श्रेष्ठबाट आफूलाई कुनै उपेक्षा नभएको बताएकी छिन् । ‘यस्तो अवस्थामा छोडेर जानेबाट अब मलाई कुनै आशा छैन तर बाबुलाई उसको हकअधिकार दिनुपर्छ’, उनले भनिन । श्रीमान मिलन श्रेष्ठले आफू गर्भवती हुँदादेखि विभेद सुरु गरेको र बच्चा जन्मिएपछि बेपत्ता भएको मनिकाको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्