| मङ्लबार, कार्तिक २४, २०८३

पानी परेका बेला कालोपत्रे : गुणस्तरहीन काम, राज्यको ढुकुटीको बर्बादी

कालोपत्रेको काम चर्को घाम लागेका बेला गर्नुपर्दछ । तर नेपालमा, हाम्रो जस्तो पहाडी जिल्लाका गाउँघरमा कालोपत्रेको काम पनि झमझम पानी परिरहेका बेला गर्ने गर्छन्, जसले गर्दा पिच भोलिपल्टै उप्किन्छ, राज्यको ढुकुटी व्यर्थै खर्च हुन्छ । यो जो कोहीले बुझेका छन् तर पनि यो खालको समस्या समाधान हुन सकेको छैन ।

हालसालै पनि भीमसेनथापा गाउँपालिका १ घ्याम्पेशाल लोकिल बजारमा भएको छ । घ्याम्पेशालबाट पाँचखुवा देउराली हुदै ताकुकोट जोड्ने सडकको लोकिलखण्डमा गत बिहिबार राती १० बजेतिर झमझम पानी परिरहेका बेला सडक पिच गरिएको हो । यसप्रति स्थानीयबासीले तिब्र आलोचना गरेका छन् ।

घ्याम्पेशालमा मात्र होइन, नेपालका विभिन्न स्थानमा यस्ता दृश्य बारम्बार देखिने गरेका छन् । पानी परिरहेको बेला कालोपत्रे गर्दा बिटुमेन (अलकत्रा) र गिट्टीको मिश्रण राम्ररी सेट हुन पाउँदैन । पानीले गर्दा बिटुमेनको टाँसिने गुणमा कमी आउँछ र गिटीसँग राम्रोसँग बन्धन बन्न सक्दैन । फलस्वरूप, सडकको सतह कमजोर बन्छ र छोटो समयमै उप्किन थाल्छ । पानीले गर्दा मिश्रणको तापक्रम पनि घट्छ, जसले गर्दा त्यसको गुणस्तरमा प्रत्यक्ष असर पर्छ ।

यस्तो गुणस्तरहीन कामले सडकको आयु घटाउँछ र बारम्बार मर्मत गर्नुपर्ने अवस्था सिर्जना गर्छ । गुणस्तरहीन कामले राज्यकोषको दुरुपयोग त यसै भइहाल्छ, बारम्बारको मर्मतले अनावश्यक भार पर्छ । एकपटक गरिएको कालोपत्रे छोटो समयमै बिग्रिएपछि त्यसलाई फेरि बनाउनका लागि ठूलो रकम खर्च गर्नुपर्ने हुन्छ । यो सिधै राष्ट्रिय ढुकुटीको बर्बादी हो । अर्कातिर बनेको सडक छिट्टै भत्किएपछि यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य हुनेछन् ।

विकास निर्माणका लागि विनियोजन गरिएको बजेट सही ठाउँमा र सही तरिकाले खर्च नहुँदा नागरिकले पाउनुपर्ने सेवा सुविधामा कमी आउँछ । यस्ता गतिविधिले भ्रष्टाचारलाई पनि प्रोत्साहन दिन्छ, जहाँ कामको गुणस्तरभन्दा बजेट सक्नका लागि मात्र काम गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्