
रुइला नाका पनि तीन महिनाका लागि खुल्ला
गोरखाको रुइला नाका पनि तीन महिनाका लागि खुल्ला भएको छ । चुमनुब्री गाउँपालिका १ को सामागाउँ, साम्दा र तिब्बती रुई क्षेत्रको सीमानामा पर्ने रुईला नाका शनिबारदेखि खुल्ला गरिएको स्थानीय मिङ्मार लामाले जानकारी दिए ।
उत्तरी गोरखा र तिब्बती क्षेत्रमा आवतजावत गर्न चुमनुब्री १ मा रुइला र चुमनुब्री ७ मा ङुइला नाका रहेका छन् । ङुइला नाका यसअघि गत मंगलबारदेखि नै तीन महिनाका लागि खुलिसकेको छ । रुइला नाका पनि खुलेपछि अब दुवै नाका आउँदो असोजसम्म खुल्नेछन् ।
नाका खुलेपछि उत्तरी गोरखाका बासिन्दाले यार्सागुम्बा, बनलसुन, घरबुनाका कपडाहरु तिब्बती बजारमा बेच्ने र तिब्बती बजारबाट चामल, नूनतेल, घिउलगायतका दैनन्दिन आवश्यक सामग्री ल्याउने गर्छन् ।




