
मध्यरातको झरीमा रेनकोट ओढेर सडक कालोपत्रे
असारे रात अन्धकार अनि घनघोर मुसलधारे बर्षा । भीमसेनथापा गाउँपालिका १ घ्याम्पेशालका बासिन्दा मस्त निदाइरहेका थिए । तर घ्याम्पेशालबाट ताकुकोटसम्म जाने सडकको केही भाग कालोपत्रे गर्न बाँकी नै थियो । काम बाँकी हुँदा भुक्तानी पनि बाँकी थियो, त्यसैले सडक कालोपत्रे गर्ने कामदार झरी र रातको पर्वाह नगरी धमाधम कालोपत्रे गर्दैथिए ।

बिहिबार रातको कुरा हो यो । चर्को घाममा मात्र गर्नुपर्ने कालोपत्रे यहाँ असारे झरीमा रेनकोट ओढेर रातको समयमा धमाधम गरिएको छ । भीमसेनथापा गाउँपालिका १ घ्याम्पेशालबाट ताकुकोट जोड्ने सडकको लोकिल बजार खण्डको करिब दुईसय मिटर सडक रातारात झरी परिरहेका बेला कालोपत्रे गरिएको स्थानीय रोशन गुरुङले जानकारी दिए ।
पानी परेका बेला गरिएको कालोपत्रे नटाँस्सिने, नजोडिने, उप्किने, नबस्ने प्राविधिकहरुको भनाइ छ । तर यहाँ भने धमाधम पानी परेका बेला कालोपत्रे गरिएको हो । ‘बिहिबार राती आठ बजेदेखि साँढे १० बजेसम्म झमझम पानी परिरहेको बेलामा रोड पिच गरे’, गुरुङले भने, ‘दिनभरि झरी परेको थियो । चारबजेदेखि पानी परिरहेका बेला पिच गर्न थालेका थिए । स्थानीयबासीले बिरोध गरेपछि काम रोके । तर पछि स्थानीयबासी लाखापाखा लागिसकेपछि रातारात पिच गरे ।’
पानी पानीमा पिच गरेको बारे आफूहरुले योजना कार्यान्वयन गर्ने कार्यालय पूर्वाधार विकास कार्यालयमा खबर गरेका थिए । ‘हामीले फोनबाट कार्यालय प्रमुखलाई खबर पनि गरेका थियौँ’, गुरुङले भने, ‘काम रोक्छु भन्नु भयो । तर काम रोकिएन । हेर्न प्राविधिक पठाउँछु भन्नु भएको थियो । शुक्रबार दिनभर पनि कोही कर्मचारी हेर्न आएनन् ।’
घ्याम्पेशालदेखि पाँचखुवा देउराली हुदै ताकुकोट जोड्ने सडक कालोपत्रे गर्ने काम एमएस, बिरुवा, वाइबा एण्ड लामा जेभी कम्पनीले गरेको हो । २९ करोड ७७ लाख रुपैया लागतमा यसअघि सबै खण्ड कालोपत्रे गरे पनि लोकिल बजार खण्डको काम विवादका कारण लामो समयदेखि रोकिएको थियो । भुक्तानीको अन्तिम समय पारेर निर्माण कम्पनीले रातारात झरीको पर्वाह नगरी कालोपत्रे गरेको हो ।
पूर्वाधार विकास कार्यालयका प्रमुख गणेश सुवेदीले सो काम गलत भएको भन्दै सो काम नसच्याए रकम भुक्तानी नदिने बताएका छन् । ‘त्यहाँ गलत काम भएको छ । हामीलाई जानकारी नै नदिई त्यहाँ काम गरेका हुन्’, सुवेदीले भने, ‘हामीले सच्याउन भनेका छौँ । नसच्याए त्यो गलत कामको भुक्तानी दिँदैनौं ।’
रातारात झरीमा गरिएको कालोपत्रे शुक्रबार बिहान हेर्दा पानीले बगाएको, उप्किएको भेटिएको रोशन गुरुङको भनाइ छ ।
यसबारे बुझ्न निर्माण कम्पनीका प्रतिनिधिलाई पटक पटक टेलिफोन गर्दा सम्पर्क हुन सकेन ।




