| मङ्लबार, कार्तिक २४, २०८३

सँधै असारे विकास गरिरहने कि सच्याउने ?

दिन उजेली सुती बिताई, रात उजेली बिस्कुन सुकाइ भनेजस्तै जब असार लाग्छ, तब धमाधम विकास निर्माणका काम सुरु हुन्छन् । यो प्रवृत्ति राम्रो होइन, यसलाई सच्याउनु पर्छ भनेर जताततैबाट बहश, पैरबी भइरहेका छन् तर दशकौंदेखि सच्याउन चाहेर पनि नसकेको एउटा परम्पराका रुपमा स्थापित भएको छ, असारे विकास । जब असार लाग्छ, बर्षात सुरु हुन्छ, तब धमाधम पूर्वाधार विकास निर्माणका काम सुरु हुन्छन् । जब असार लाग्छन्, तब गोष्ठी, सेमिनार, तालिम, अभिमुखीकरणका कार्यक्रम सुरु हुन्छन् ।

यसको उपादेयता बजेट सिध्याउने बाहेक अन्य केही होइन । आर्थिक वर्षको अन्तिम महिना, असारमा, हतार–हतार बजेट सक्ने प्रवृत्तिले विकासको गुणस्तरमाथि गम्भीर प्रश्नचिन्ह खडा गरेको छ। सडक, भवन, पुल लगायतका पूर्वाधार निर्माणमा असार महिनामा मात्रै अत्यधिक बजेट खर्चिनु र त्यसको केही समयमै ती संरचना भत्किनु अब नौलो रहेन। यो प्रवृत्तिले एकातिर राज्यकोषको दुरुपयोग गरिरहेको छ भने अर्कातर जनतामा विकासप्रतिको विश्वास घट्दै गएको छ।

यसका पछाडि केही संरचनागत र नीतिगत कमजोरीहरू जिम्मेवार छन् । योजना छनोटमा ढिलाइ, बजेट विनियोजनमा हुने राजनीतिकरण, ठेक्का प्रक्रियामा पारदर्शिताको अभाव, र कमजोर अनुगमन प्रणालीले असारे विकासलाई मलजल गरिरहेका छन् । यो गलत अभ्यास सदाका लागि अन्त्य गर्न वर्षभरि समान रूपमा बजेट तथा कार्यक्रम कार्यान्वयन गर्नेतर्फ सरकारले ध्यान दिनुपर्छ ।

समयमै ठेक्का लगाउने, कामको निरन्तर अनुगमन गर्ने र गुणस्तरहीन काम गर्ने ठेकेदारलाई कारबाही गर्ने परिपाटीको विकास हुनुपर्छ। अब असारे विकासलाई एउटा नियति मानिरहने होइन, यसको अन्त्यका लागि सबैले हातेमालो गर्नुपर्छ। सरकार, राजनीतिक दल, कर्मचारीतन्त्र, ठेकेदार र आम नागरिक सबैको सामूहिक प्रयासबाट मात्र यो विकृति हटाउन सकिन्छ। दिगो र गुणस्तरीय विकासका लागि असारे विकासको अन्त्य अपरिहार्य छ। के हामी सधैं हतारको विकासलाई अँगालिरहने ? वा अब साँचो अर्थमा दिगो विकासको बाटोमा लाग्ने? यो प्रश्न अब हामी सबैका सामु खडा भएको छ ।

प्रतिक्रिया दिनुहोस्