
गोरखामा सुरु भयो रेडियो नेपालको एफएम प्रशारण सेवा
गोरखामा रेडियो नेपालको एफएम प्रशारण सेवा सुरु भएको छ । रेडियो नेपालको सञ्चालक संस्था सार्वजनिक सेवा प्रसारण नेपालले सदरमुकामको उपल्लोकोटमा रिले स्टेशन प्रविधि जडान गरी गत सोमबारदेखि एफएम ब्याण्डको ९८ मेगाहर्जबाट सेवा आरम्भ गरेको हो ।
गोरखा र यस आसपासका धादिङ, चितवन, तनहूँ, लम्जुङका स्रोतालाई लक्षित गरी रेडियो नेपालले आफ्ना कार्यक्रमहरु एफएममार्फत प्रशारण गर्न सुरु गरेको यहाँ प्रविधि जडान गर्न आएका गिरिराज निरौलाले जानकारी दिए । सो स्टेशनले बिहान पाँच बजेदेखि राती ११ बजेसम्म विभिन्न कार्यक्रमहरु प्रशारण गर्ने गर्दछ ।
अपरान्ह २ बजेदेखि साँझ ६ बजेसम्म भने रेडियो नेपालको गण्डकी प्रदेशको स्टुडियोबाट उत्पादित कार्यक्रमहरु प्रशारण गर्ने निरौलाले जानकारी दिए । रेडियो नेपालले देशमै पहिलो पटक २०५२ सालदेखि एफएम सेवा प्रशारण गर्दै आएको छ । सार्वजनिक सेवा प्रसारण नेपालले गोरखासंगै देशका ३४ ठाउँबाट रेडियो नेपालको एफएम प्रशारण गर्दै आएको छ । यी एफएमहरु एक किलोवाट(एकहजार वाट) क्षमताका रहेका छन् ।




