
पाङसिङका गुरुङको दुबाईमा निधन, शवको पर्खाइमा आफन्त
चुमनुब्री गाउँपालिका ३ पाङसिङका चन्द्रबहादुर गुरुङको दुबाईमा निधन भएको छ । ४४ बर्षका गुरुङको केही दिनअघि दुबाईमा हिँड्दाहिँड्दै ढलेर मृत्यू भएको स्थानीय वुद्ध गुरुङले जानकारी दिए । उनको शव बिहिबार राती नेपाल आईपुग्ने भन्दै आफन्तहरु पर्खाइमा रहेको उनले बताए ।
‘राती ११ बजे शव आइपुग्छ भन्ने खबर आएको छ । सोतीसम्म नेपाल सरकारले एम्बुलेन्समा ल्याइदिने खबर छ’, गुरुङले भने, ‘शव लिनका लागि काठमाडौं एयरपोर्टमा सिर्दिबास सम्पर्क समिति खटिएको छ । सोतीसम्म छोरी पर्खेर बसेकी छिन् ।’ हृदयघातबाट मृत्यू भएको अनुमान गरिएको उनले बताए ।
मृतक चन्द्रबहादुर गुरुङ तीनबर्ष अघि दुबाई गएका थिए । ‘काम गरेको कम्पनीमा भिसा सिद्धिएको रहेछ । नेपाल आउन लाग्दा राहदानीको पनि म्याद सकिएको रहेछ । दुईपटकसम्म नेपाल फर्कने प्रयास गर्दा पनि फर्काइदिएको रहेछ’, स्थानीय वुद्ध गुरुङले भने, ‘पैसा पनि सकियो । भिसा, पासपोर्टको म्याद पनि सकिएको, श्रम स्वीकृति पनि सकिएकाले बेस्सरी तनाबमा रहेछ ।’
खान, बस्न पनि समस्या भएपछि तनाबकै अबस्थामा मृत्यू भएको हुनसक्ने उनले बताए । उनको मृत्यू भएको एकहप्तापछि मात्र घर परिबारले जानकारी पाएको उनले बताए । गुरुङको घरमा श्रीमती, एक छोरा र एक छोरी छन् ।




