
छेकम्पारको ङुइला नाका तीन महिनाका लागि खुल्ला
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारबाट तिब्बती क्षेत्र आवतजावत गर्ने ङुइला नाका खुलेको छ । तिब्बती सुरक्षाकर्मीले मंगलबार (अंग्रेजी महिना जुलाइको १ तारिक)देखि नाका खुल्ला गरेको छेकम्पारका निवर्तमान वडाध्यक्ष पासाङफुञ्जो लामाले बताए ।
लामाका अनुसार यसअघि द्विपक्षीय सुरक्षाकर्मी र जनप्रतिनिधिहरु सम्मिलित सीमा सुरक्षा बैठक गरेर मात्र नाका खुल्ला गर्ने तयारी भएको थियो । तर, नेपालको गृहमन्त्रालयको आदेश आउन ढिला भएपछि बैठकबिनै नाका खुल्ला गरिएको हो । ‘यसपटक तीन महिनाका लागि नाका खुल्ला गरिएको छ’, उनले भने, ‘कोरोनाभन्दा पहिले सँधैका लागि खुल्ला थियो । कोरोनापछि ६ बर्षसम्म बन्द भयो र पोहोरसाल एक महिनाका लागि खुलेको थियो । यो सालचाहिँ अल्लि लामो समयका लागि खुल्ला भएको छ ।’
तिब्बती नाका खुल्लाभएसँगै हालसालै संकलन गरिएको यार्सागुम्बा, वनलसुन तिब्बती बजारमा बेचेर त्यहाँबाट खाद्यान्न, लत्ताकपडा तथा अन्य आवश्यक सामग्री ल्याउने भन्दै स्थानीयबासी खुशी भएका छन् । चुमनुब्री १ स्थित रुइला नाका भने हाल खुल्ला भएको छैन । नेपालको गृहमन्त्रालयबाट बैठकका लागि आदेश आएपनि तिब्बती पक्षले बैठक आव्हान गरेका छैनन् । नाका कहिले खुल्ने पनि निश्चित नभएको स्थानीयहरुको भनाइ छ ।




