| मङ्लबार, कार्तिक २४, २०८३

पूर्णखोप सुनिश्चितताले निरन्तरता पाओस्

कोभिड १९ महामारीले विश्वलाई नै आक्रान्त बनाएयता ‘खोप’ शब्द प्रिय शव्द बनेको छ, किनकि कोभिडको खोपले मानव जगतलाई जीवनको भरोसा दिलाएको छ । कोभिड लागेपछि सिकिस्त नबनाएपनि मनोबल गिरेर मृत्यू भएका कैयौं उदाहरण थिए । तर खोप लगाएपछि कोभिडको भाइरसले आक्रमण गरे पनि मान्छेले बाँच्ने मनोबल बढ्यो र बाँचे पनि ।

यसअघि मलेरिया, बिफर, दादुरा, हात्तिपाइले, ठेउला, पोलियोजस्ता सर्ने, नसर्ने रोग पनि खोपले उन्मूलन, न्यूनिकरण गरेको छ । त्यसैले नेपालमा खोपको ठूलो महिमा छ । नेपालमा खोप अभियानले ठूलो सफलता हासिल गरेको छ । यसको परिणामस्वरूप संक्रमण दरमा उल्लेख्य कमी आई जनजीवन सामान्यतर्फ उन्मुख हुन सकेको छ । यो बेला गोरखालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ ।

पहिले वडा, त्यसपछि पालिका हुँदै अहिले जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । बच्चाहरूलाई विभिन्न रोगबाट बचाउन नियमित रूपमा दिइने खोपहरू (जस्तैः दादुरा, रुबेला, पोलियो, डीपीटी, बीसीजी आदि) को महत्व अपरम्पार छ । यी खोपहरूले बालबालिकालाई गम्भीर बिरामी हुनबाट बचाउनुका साथै उनीहरूको दीर्घकालीन स्वास्थ्य सुनिश्चित गर्छन् । खोप कार्यक्रमको निरन्तरताले नै हामीले विगतमा पोलियो उन्मूलनजस्ता ठूला सफलताहरू हासिल गरेका हौँ ।

तर, पछिल्लो समयमा खोपप्रतिको सचेतना र यसलाई नियमित रूपमा लिने प्रवृत्तिमा कमी आएको संकेत देखिएका छन् । अभिभावकहरूमा कोभिड १९ को त्रास कम भएसँगै अन्य नियमित खोपको महत्वलाई पनि कम आँक्ने प्रवृत्ति बढेको हुन सक्छ । कतिपय दुर्गम क्षेत्रमा खोप सेवाको पहुँच अझै पनि चुनौतीपूर्ण छ भने शहरी क्षेत्रमा पनि व्यस्त जीवनशैली र जानकारीको अभावका कारण अभिभावकहरूले आफ्ना बालबालिकालाई खोप लगाउन छुटाएको देखिन्छ ।

यसले भविष्यमा विभिन्न संक्रामक रोगहरूको प्रकोप फेरि बढ्न सक्ने जोखिम निम्त्याउँछ । जनचेतना अभिवृद्धि सरकार र स्वास्थ्य निकायले खोपको महत्वबारे नियमित रूपमा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ । सामाजिक सञ्जाल, स्थानीय रेडियो र टेलिभिजनमार्फत खोप तालिका र यसका फाइदाबारे जानकारी फैलाउनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्