
गोरखा पूर्णखोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा
गोरखालाई बिहीबार पूर्णखोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लाभित्रका १६ देखि ५९ महिनासम्मका बालबालिकाहरुले १५ महिनाभित्र पाउनुपर्ने सबै खोप पाएको सुनिश्चित भएकाले जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लाका वडाहरु हुदै सबै पालिकालाई पूर्णखोप दीगोपना तथा सुनिश्चितता घोषणा गरेपश्चात जिल्लालाई घोषणा गरिएको कार्यालय प्रमुख यमप्रसाद शर्माले बताए । उनका अनुसार गत बैशाख १५ देखि जेठ २७ गतेसम्म जिल्लाका सबै पालिकाहरुलाई पूर्ण खोप दीगोपना तथा सुनिश्चितता पालिका घोषणा गर्ने कार्य सम्पन्न भएको थियो ।
सर्वेक्षणको क्रममा यो वर्ष जिल्लाभर एक जना बालक सबै खोपबाट बञ्चित भएको र ११ जना बालबालिकाहरुले आंशिक मात्र खोप लगाएको पाइएको थियो । उनीहरु सबैको पहिचान गरी लगाउनुपर्ने सबै खोपहरु लगाइएको खोप समन्वय समितिले जनाएको छ ।
सरकारले प्रत्येक वर्षको माघदेखि चैत्र महिनासम्मलाई घरधुरी सर्वेक्षण गर्ने, वैशाख महिनालाई खोप महिना मनाउने र पूर्ण खोप घोषणा तथा दीगोपनाको कार्यक्रम संचालन गर्ने जिल्लाको खोप फोकल पर्सन एवं जनस्वास्थ्य निरीक्षक नानीबाबु दानीले बताए ।
जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका अध्यक्ष मोहनबहादुर थापाको अध्यक्षता तथा प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव विश्वबन्धु बगालेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममास्थानिय तहहरुका प्रमुख, उपप्रमुख, स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्यकर्मी लगायतको सहभागीता रहेको थियो ।




