
चोरीका घटनाबाट बच्न नागरिक सचेतना पनि जरुरी
जिल्लामा पछिल्लो समय चोरीका घटनाहरु बढ्न थालेका छन् । पसलदेखि सहकारी संस्थासम्म चोरी भइरहेका छन् । पाकेटमारहरुको पनि बिगबिगी छ । चोरीमा संलग्नको खोजी कार्यमा प्रहरीले एक किसिमको प्रयास गरिरहेकै छ । केही चोरहरुलाइ पक्राउ समेत परेका छन् । तर घटनाहरु पनि नियन्त्रण हुन सेकेको देखिदैन । यस्ता घटना हुन नदिन नागरिक आफै पनि सचेत हुनु जरुरी छ ।
जिल्लामा बिभिन्न खालका चोरीका घटनाहरु हुदै आएका छन् । केही समय अघि श्रृंखलावद्ध रुपमा मोवाइल पसल चोरीका घटना भए । लामो प्रयासपछि त्यसमा प्रहरीले सफलता पायो । मोवाइलहरु चोरेर भारत पुगेकाहरुलाई समेत पक्राउ गरेर ल्याउन गोरखा प्रहरी सफल भयो । त्यसयता घरमा पस्ने र गरगहना चोरी गर्ने गिरोह संक्रिय बन्यो । तर त्यसमा प्रहरीले खासै सफलता पाउन सकेन । पछि सिक्री लुट्ने गिरोहले केही समय जिल्लामा अशान्ति मच्चायो ।
प्रहरीले तिनीहरुलाई पनि प्रहरीले पक्राउ गर्न सफल भयो । मोटरसाइकल चोरीका घटनाले पनि एकताका जिल्लामा आतंक नै मच्चायो । सानातिना चोरीका त कुरै छाडौ । तर मुख्य कुरा अहिले जिल्लामा सहकारीहरु चोरी हुने क्रम बढ्दो छ । सहकारीबाट लाखौ रकम चोरी भएका घटनामा प्रहरीले अहिलेसम्म सफलता पाउन सकेको छैन ।
चोरीका घटनामा सफलता पाउन नसक्नु प्रहरीको कमजोरी पक्कै होला । तर चोरीका घटना घट्नुमा नागरिकहरु स्वयम पनि जिम्मेवार छन् । आफ्नो धनमालको सुरक्षा आफै गर्नुपर्छ । बिभिन्न सावधानी अपनाउनुपर्छ । घरमा कोही नहुँदा छिमेकीलाई रेखदेख गर्न लगाउने र राम्रोसँग तालाचावी लगाउने गर्नुपर्छ ।
गहना र धेरै नगदहरु घरमा राख्नुभन्दा बैकमा राख्दा सुरक्षित हुन्छ । गाउँमा नयाँ मान्छे कोही आएमा निगरानी बढाउने र छिटै अरुको विश्वास नगर्दा पनि यस्ता घटनाहरुबाट जोगिन सकिन्छ । त्यसैले चोरीका घटना न्यूनिकरणमा नागरिक सचेतना जरुरी देखिन्छ ।




