
सहज रुपमा सेवा नपाए सिधै मलाई भेट्नु : प्रजिअ कडरिया
जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवालाई छिटो छरितो र सरल बनाउन सक्दो प्रयास गर्ने गोरखाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले बताएका छन् ।
हालै गोरखाका प्रजिअ भएर आएका उनले मंगलवार जिल्लाका पत्रकारहरुसँग भेटघाट गर्दै सेवा प्रवाहमा ढिलासुस्ती भए सिधै आफूलाई भेट्न सेवाग्राहीलाई आग्रह गरेका छन् । ‘सेवा लिन झन्झट भयो, केही समस्या आयो भने सिधै मलाई भेट्नुहोला,’ उनले भने, ‘म आफै सम्बन्धित फाँटमा गएर सहजिकरण गर्छु ।’
प्रशासनका कर्मचारीहरुले सेवाग्राहीलाई गर्ने व्यवहार राम्रो नभएको जनगुनासो बढेको भन्दै भेटघाटमा पत्रकारहरुले प्रजिअलाई जानकारी गराएका थिए । कर्मचारीहरुको व्यवहार परिवर्तनमा पनि जोड दिन पत्रकारहरुले सुझाव दिएका छन् । ती कुराहरुमा ध्यान दिने बताँउदै प्रजिअ कडरियाले आगामी दिनमा आवश्यक समन्वय गर्दै अघि बढ्ने जानकारी गराए ।




