| मङ्लबार, कार्तिक २४, २०८३

वैदेशिक रोजगारीका कारण गाउँ रित्तिने क्रम तीब्र

नेपालीहरु बसाइँ सराइमा अभ्यस्त छन् । रोजगारी तथा व्यवसायका क्रममा देश छाड्ने, गाउँ, सहर छाड्ने क्रम सदियौंदेखिको पुरानो हो । यसरी नै नेपालीहरु अफ्रिकादेखि, मध्यपूर्वदेखि यहाँ आइपुगेका हुन् । अहिले पनि यसरी नै रोजगारी तथा व्यापार, व्यवसायमा जाने क्रम बढिरहेको छ । वैदेशिक रोजगारी आधुनिक नेपाली समाजको एक अभिन्न अंग बनिसकेको छ ।

नेपालको प्रतिविम्ब गोरखामा परेको छ । त्यसकै नतिजा हो, १० महिनाको अवधिमा ११ हजार जनाले गोरखा छाड्नुको । वैदेशिक रोजगार विभागकाअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को वैशाख मसान्त सम्ममा गोरखाबाट वैदेशिक रोजगारीमा जानेको संख्या १० हजार ७०८ पुगेको हो । जसमा महिला एक हजार ४२० र नौ हजार ३६० जना पुरुष रहेका छन् ।

देशको अर्थतन्त्रमा यसले पु¥याएको योगदान अतुलनीय छ भने लाखौँ परिवारको जीवनस्तर उकास्न पनि यसले महत्वपूर्ण भूमिका खेलेको छ । तर, यसका उज्याला पाटो जति छन्, त्यति नै गम्भीर चुनौतीहरू पनि छन् जसलाई हामीले नजरअन्दान गर्न मिल्दैन ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार रेमिट्यान्सले कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को करिब एक चौथाइ हिस्सा ओगटेको छ । यसले देशको शोधनान्तर स्थिति सन्तुलनमा राख्न, उपभोग बढाउन र गरिबी घटाउन प्रत्यक्ष सहयोग र्पुयाएको छ । गाउँदेखि सहरसम्मका घरहरूमा पक्की भवन ठडिएका छन् । बालबालिकाले राम्रो शिक्षा पाएका छन् र स्वास्थ्य सेवामा पहुँच बढेको छ । यी सबै वैदेशिक रोजगारीकै कारण सम्भव भएका हुन् ।

तर, यो समृद्धिको अर्को पाटो दुःखद र कहालीलाग्दो छ । गाउँघर सुनसान छ । बिरामी पर्दा, मर्दापर्दा साथ दिनेहरु कम हुदै गएका छन् । सबै ज्येष्ठ नागरिकको रित्ता घरमा बुढ्यौली बितिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्