
विदेश पठाइदिने प्रलोभनमा ठगी गर्ने धार्चेका एक पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले धार्चेका एकसहित दुई युवालाई पक्राउ गरेको छ । आकर्षक तलबको प्रलोभनमा पारी इटली र अजरबैजान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।
गोरखाको धार्चे गाउँपालिका ५ घर भई काठमाडौंको तारकेश्वर नगरपालिका ३ बस्ने ३७ वर्षीय सुरेश गुरूङ र दाङ घोराही उपमहानगरपालिका १६ घर भई हाल काठमाडौं महानगरपालिका ७ बस्ने १९ वर्षीय दर्शन खड्कालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सरेशले अजरबैजान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ४ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ । साथै दर्शनले इटाली पठाइदिन्छु भन्दै ३ जनासंग ६ लाख रूपैयाँ र लिई सम्पर्कबिहिन भएको आरोपमा पीडितहरूबाट उजुरी परेको थियो ।
सरेशलाई अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका २६ बाट मंगलबार पक्राउ गरेको हो । दर्शनलाई काठमाडौं महानगरपालिका ७ बाट बुधबार पक्राउ गरेको जनाइएको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।




