| आइतवार, कार्तिक २२, २०८३

चुमनुब्री गाउँपालिकाले ल्यायो, नीति कार्यक्रम र बजेट : भाषण सिकाउनेदेखि कर्मचारी टिकाउनेसम्मका कार्यक्रम

चुमनुब्री गाउँपालिकाको सत्रौं अधिवेशनले नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । गाउँ परिषदमा पालिका प्रमुख निमा लामाले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने उपप्रमुख लक्ष्मी गुरुङले बजेट प्रस्तुत गरेकी थिइन् ।

नीति कार्यक्रम प्रस्तुत गर्दै पालिका प्रमुख लामाले स्याग्या परम्परालाई गिनिज बुक अफ वल्र्ड रेकर्डमा राख्न पहल गरिने घोषणा गरे । साथै वुद्ध माविमा १२ कक्षासम्म सञ्चालनको पहल गरिने उनले उल्लेख गरे । गाउँपालिकाभित्र ठूला जलविद्युत आयोजना सञ्चालन गर्न लागिएकाले त्यसमा स्थानीयको सेयर सुनिश्चित गर्न माग गरिने पनि कार्यक्रममा उल्लेख छ । गाउँपालिकाका विभिन्न ठाउँमा रहेका सुन, चाँदी, सिसा, तामा, सिलाजीत, ढुंगा खानीको सम्भाव्यता अध्ययनका लागि पहल गरिने पनि नीति कार्यक्रममा उल्लेख छ ।

साथै पालिकाको नीति कार्यक्रममा एक वडा एक गौरबको योजना निर्माण गरिने उल्लेख छ । पर्यटन शुल्क उठाउने कार्यलाई निरन्तरता दिइने छ । आउँदो बर्ष मनास्लु हिरक महोत्सव मनाउने र प्रथम पटक मनास्लु आरोहण गर्नेहरुको सालिकसहितको पार्क निर्माण गर्ने पनि उल्लेख छ । ज्येष्ठ नागरिक, अपांग, असहायका लागि वडाहरुमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने पनि नीति कार्यक्रममा उल्लेख छ । कोही नहुनेको स्थानीय सरकार चुमनुब्री गाउँपालिकामा छ कार्यक्रमका लागि पालिकाले पाँच लाख विनियोजन गरेको छ ।

उपप्रमुख लक्ष्मी गुरुङले ४६ करोड ४ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी छिन् । समा चालुतर्फ २८ करोड २० लाख र पुँजीगततर्फ १७ करोड रुपैयाँ बिनियोजन गरिएको छ । भाषण गर्ने कला सिकाउने कार्यक्रमका लागि पनि पालिकाले सात लाख रुपैयाँ बिनियोजन गरेको छ । त्यस्तै कर्मचारी टिकाइराख्ने कार्यक्रमका लागि भनेर १० लाख रुपैयाँ बिनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्