
धार्चेले आरोहण पेशा अपनाउनेलाई प्रोत्साहित गरोस्
धार्चे गाउँपालिकाले केहीदिनअघि आठहजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्ने १८ जना आरोहीहरुलाई सम्मान गरेको छ । उनीहरुको आरोहण कर्मलाई प्रसंसा गर्दै अझै थप सुरक्षित तबरले आरोहण पेशालाई अघि बढाउन हौसला दिन सम्मान गरेको हो ।
गोरखा जिल्लामा पनि आठहजार मिटरभन्दा अग्लो मनास्लु हिमाल छ । बर्षमा झण्डै चारजसय जनाले यो हिमाल आरोहण गर्छन् । एकजनाले हिमाल आरोहण गर्न धेरैजना जनशक्ति आवश्यक पर्छ । भरिया, कुक, गाइड, शेर्पा लगायत धेरैजना स्थानीयले रोजगारी पाउँछन् । तर यी जनशक्ति आरोहीहरुले बाहिरबाट लिएर आउँछन् । यदि यहीँको स्थानीयबासीले यस खालको पेशा, व्यवसाय गरे भने उनीहरुको आयआर्जन पनि राम्रै हुने निश्चित छ ।
पर्यटन व्यवसाय गर्नेहरुको पारिश्रमिक पनि अरु क्षेत्रको भन्दा राम्रो हुने गर्छ । नेपालमा वसन्त र शरद दुई सिजनमा हिमाल आरोहण गर्ने गरिन्छ । दुई सिजनमा मात्र व्यवसाय गर्नेले पनि राम्रै कमाइ, राम्रै आम्दानी गर्ने गरेका उदाहरण बग्रेल्ती छन् । दुई सिजनले बिजनेश(काम) नपुगेर यदि अन्य सिजनमा पनि व्यवसायलाई निरन्तरता दिन चाहनेले विश्वका अरु हिमाल आरोहणको काममा पनि सहभागी हुन सक्ने वातावरण छ । त्यसका लागि सम्पर्क, सम्बन्धको खाँचो छ ।
आरोहण व्यवसाय महिला र पुरुष दुवैका लागि खुल्ला छ किनभने, विश्वभरबाट महिला आरोही पनि आउँछन्, पुरुष आरोही पनि आउँछन् । पुरुषलाई पुरुष, महिलालाई महिला गाइड, शेर्पा हुँदा सहज हुन्छ । त्यसैले यस पेशा, व्यवसायलाई यस क्षेत्रका बासिन्दाले पनि अपनाउनु बेस हुन्छ । धार्चे गाउँपालिकाले पालिकाभित्रका पर्यटन तथा आरोहण व्यवसायमा सहभागी हुनेलाई यसमा लाग्न प्रेरित गरिरहनु पर्छ ।




