
गण्डकी गाउँपालिकाको बैठक भत्ता र सञ्चार खर्च अनियमित ठहर
गण्डकी गाउँपालिकाले भुक्तानी दिएको वैठक भत्ता महालेखा परीक्षकले अनियमित ठहर गरेको छ । महालेखाको ६२ औं प्रतिवेदनले सो पालिकाले भुक्तानी दिएको ९९ हजार चारसय ५० रुपैयाँ भत्ताबापतको रकमलाई अनियमित भन्दै नियमित गर्न सुझाव दिएको छ ।
प्रदेश खर्चको मापदण्ड २०७९ परिच्छेद २ को ३ मा बैठक भत्ताको मापदण्ड सम्बन्धी व्यवस्था रहेको छ । सो बुदाको (ग) मा एउटै निकाय र अन्तर्गतका पदाधिकारी र कर्मचारी मात्र बस्ने बैठकमा भत्ता प्रदान गरिने छैन भन्ने स्पष्ट व्यवस्था रहेको छ साथै सोही मापदण्डको (क) मा बैठक सार्वजनिक बिदाका दिन वा कार्यालय खुलेको दिन भएमा कार्यालय समय अघि वा पछि बसेको हुनु पर्नेछ भन्ने स्पष्ट व्यवस्था रहेको छ ।
तर पालिकाको करार कर्मचारी पदपुर्ती र करार कर्मचारी कासमु बैठक सञ्चालन गर्दा कुनै पनि पदाधिकारिहरू कार्यालय भन्दा बाहिरको नभएता पनि एउटै कार्यालयका कर्मचारी र पदाधिकारी सामिल बैठकको भत्ता वितरण गरेको देखिन्छ । मापदण्डले व्यवस्था गरेअनुसार एउटै निकाय र अन्तर्गतका पदाधिकारी र कर्मचारी मात्र बस्ने बैठकमा भत्ता प्रदान गरेको रकमलाई नियमित भएको मान्न सकिदैन भन्दै महालेखाले सो बैठक भत्ता बापतको रकम नियमित गर्न सुझाव दिएको छ । सञ्चार खर्चबापतको रकमलाई पनि अनियमित खर्च भन्दै नियमित गर्न सुझाव दिएको छ ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा २४ उपदफा (२) मा सरकारी रकम खर्च गर्दा साधन स्रोतको उच्चतम प्रतिफल प्राप्त हुने र प्राप्त प्रतिफलको गुणस्तर समेत कायम हुने गरी मितव्ययी तरिकाले गर्नुपर्ने तथा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३९ (१)) बमोजिम जिम्मेवार व्यक्तीले सरकारी रकमको खर्च लेख्नु अघि त्यस्तो रकम खर्च गर्न वा भुक्तानी दिन आवश्यक बिल, भरपाई र कागजात संलग्न भए वा नभएको तथा संलग्न कागजात अनुसार भुक्तानी दिन रीत पुगे वा नपुगेको जाँच गरी खर्च लेख्नुपर्ने व्यवस्था छ ।
पालिकाले कुनै कानून कार्यविधि मापदण्ड वा निर्णय विना पालिकामा कार्यरत विभिन्न कर्मचारीहरू अधिकृतस्तर प्रति कर्मचारी मासिक १५०० र सहायक तथा अन्य स्तरका कर्मचारीहरूलाई मासिक ८०० का दरले वार्षिक रु तीनलाख २१ हजार ६०० रुपैयाँ भुक्तानी गरेको छ । यसरी कुनै कानून तथा निर्णयमा व्यवस्था नहुँदा समेत भुक्तानी गरेको सञ्चार बापतको रकम नियमित गर्न महालेखाले सुझाव दिएको छ ।




