
अजिरकोटमा स्याउ खेती परीक्षण सफल, ट्राउट माछा परीक्षण हुदैँ
अजिरकोट गाउँपालिकामा व्यवसायिक स्याउ खेतीको सम्भावना देखिएको छ । पालिकामा गरिएको स्याउ खेतीको परिक्षण सफल भएको अध्यक्ष दिपक देवकोटाले बताए ।
‘२०७९ मा हामीले परिक्षण स्वरुप करिव तीन हजार विरुवा रोपेका थियौ,’ उनले भने, ‘अहिले उत्पादन राम्रै देखियो ।’ फुजी, गोल्डेन डेलिसियस र गाला जातको स्याउ परीक्षण गरिएको उनले जानकारी दिए ।
उनका अनुसार वडा नम्वर २ सिरानडाँडामा स्याउ खेतीको परीक्षण गरिएको हो । तीन वटा कृषि फर्म छनोट गरेर ५० प्रतिशत अनुदानमा विरुवा उपलब्ध गराइएको थियो ।
‘यो ठाउँ करिव २२ सय मिटरको उचाइमा पर्छ, यो उचाइ अनि यहाँको हावापानीमा स्याउ हुन्छ की हुदैन भनेर हामीले प्राविधिकको सल्लाह सुझाव पनि लिएका थियौ, त्यही अनुसार परीक्षण स्वरुप खेती ग¥यौ, उत्पादन राम्रै देखियो,’ उनले भने ।
आगामी बर्ष नीति तथा कार्यक्रममै समावेश गरी स्याउ खेतीलाई प्रवद्र्धन गरिने उनले बताए । वडा नम्वर १ र २ मा खेती बिस्तार गरेर स्याउको पकेट क्षेत्र बनाउने योजना समेत रहेको उनले जानकारी दिए । स्याउ खेतीलाई कृषि पर्यटनसँग जोड्ने लक्ष्य समेत रहेको उनको भनाइ छ ।
पालिकामा ट्राउट माछा पालन पनि सुरु गरिएको छ । परीक्षण स्वरुप वडा नम्वर २ देउरालीमा ट्राउट माछा पालन सुरु गरिएको पालिकाले जनाएको छ । ‘कृषि फर्म मार्फत माछा पालन सुरु गरिएको हो,’ पालिका अध्यक्ष देवकोटाले भने, ‘पालिकाले त्यसमा ५० प्रतिशत अनुदान दिएको छ ।’ अहिले चार हजार भुरा माछा हालिएको छ । क्रमश खिम्पु र वलाङमा पनि ट्राउट माछा पालन विस्तार गरिने पालिकाको योजना छ ।




