
प्राकृतिक सम्पदा गैरकारनूनी दोहन गर्ने कानुनी दायरामा आउन्
गोरखामा प्राकृतिक सम्पदा दोहनका घटना बग्रेल्ती छन् । कतै वनसम्पदा, कतै नदीजन्य सम्पदा दोहनले प्रकृति कुरुप हुँदै गइरहेको छ । कुरुप मात्र होइन, प्राणी जगतको अस्तित्वमा जोखिमी पनि बढाइरहेको छ । विशेषगरी वन क्षेत्रमा सडक निर्माण गर्ने अभ्यास ज्यादा छ ।
वन क्षेत्रमा सडक निर्माण गरेपछि त्यहीँको काठ(रुख) बेचेर पनि सडक निर्माण खर्च उठ्न सम्भव हुने रहेछ । त्यसैले प्राकृतिक सम्पदाको जगेर्ना, संरक्षणतिर ध्यान नदिई दोहनमा मात्र लागिरहेको पनि कतिपय अबस्थामा, कतिपय ठाउँमा देखिन्छ । यस्तो गतिविधि भएको भए खोजी गरी कारबारहीको दायरामा ल्याउनु पर्दछ ।
विकास गर्नुअघि केही विनाश हुनुलाई स्वभाविक र अवस्वयम्भावी पनि भन्ने गरिन्छ । केही हदसम्म यो सत्यता स्वीकार्न सकिन्छ, तर कतिपय जायज केसलाई सिरानी बनाएर धेरै नाजायज काम गर्न खोजेको पनि देखिन्छ । केही दिनअघि विना अनुमति राष्ट्रिय वन क्षेत्रको रुख कटान गरी विद्युत ट्रान्समिशन लाइन विस्तार गरेको आरोपमा बारपाक दरौँदी हाइड्रो प्रालिका जनसम्पर्क अधिकृत कृष्ण पन्थी पक्राउ परेका छन् ।
बारपाक सुलिकोट गाउँपालिका–२ बल्फेस्थित राष्ट्रिय वन क्षेत्रको रुख अनुमति वेगर कटान गरेकाले पक्राउ गरिएको डिभिजन वन कार्यालय गोरखाले पुष्टि गरेको छ । यहाँ मात्र होइन, जहातहीँ विद्युत प्रशारण लाइन विस्तार गर्दा वन क्षेत्रमा क्षति हुने गर्छ, तर त्यसलाई डिपिआरकै बखत, इआईएकै बखत कानूनी प्रक्रिया पूरा गर्नुपर्ने अबस्था हुँदाहुँदै बेपर्बाह काम गर्न खोज्दा कानूनको फन्दामा परिन्छ ।
यसतर्फ सम्बन्धित निकायको ध्यान जानु जरुरी छ । रोग लागेपछि उपचार गर्नुभन्दा रोगै लाग्न नदिनु वुद्धिमानी हुन्छ भन्ने त उक्ति नै छ । तसर्थ कामको सिलसिलामा प्राकृतिक सम्पदा क्षति हुन गए पनि त्यसलाई विधि, प्रक्रिया पूरा गरी वैधता दिनुपर्छ, अन्यथा बेपर्वाह काम गरेर प्राकृतिक सम्पदा क्षति भए कानूनी दायरामा ल्याउनु पर्दछ ।




