| मङ्लबार, कार्तिक २४, २०८३

रिपोर्टरको डायरी : मिलापत्रपछि यसरी फेरिँदो रहेछ हिँसा पीडित महिलाको बयान

प्रतिक्षा आले मगर :
गत सोमबार बेलुका अफिसमा एउटा फोन आयो । फोन गर्ने व्यक्तिले ‘हजुरको दरौँदी पत्रिकाको फेसबुकमा एउटा भिडियो पठाको छु, हेर्नु’ भनेर फोन राख्यो । हतार हतार भिडियो लिंक खोलेर हेरेँ । भिडियोमा महिला र पुरुष मिलेर अर्को एक महिलालाई लछार पछार पारेका थिए । महिला आत्तिदै हार गुहार गर्दै थिइन । उनीहरुले महिलालाई लछारपछार पर्दै कपालमा समातेर पानीमा डुबाएको दृश्य भिडियोमा देखेँ । मेरो मनमा चिसो पस्यो । ती महिला को हुन र उनलाई ती व्यक्तिहरुले किन कुटपिट गरिरहेका छन् भन्ने सयौँ प्रश्न मेरो मनमा जाग्यो ।

भिडियो पोष्ट गर्ने व्यक्तिको प्रोफाइलमा गएँ । खोज्दै जाँदा आयुषा नामको फेसबुक आइडी पत्ता लगाएँ । घटना अजिरकोट गाउँपालिका–५ मुच्चोकको रहेछ । मुच्चोकको केही स्थानीयहरुसँग फोनमा कुराकानी गर्दै जाँदा सोही स्थानकी ३५ वर्षीया कल्पना धितालमाथि कुटपिट भएको थाहा भयो । भिडियो गर्ने ‘आयुषा’ नामको फेसबुक आइडी कल्पनाकी १३ वर्षिय छोरी आयुषा धितालको रहेछ । कल्पनामाथि कुटपिट गर्ने जिल्ला समन्वय समितिकी सदस्य इन्दिरा देवकोटा र उनका श्रीमान रामचन्द्र देवकोटा रहेछन् भन्ने पनि स्थानीयहरुसँगको संवादमा खुल्यो ।

कुटपिटपछि पक्कै अस्पताल गए होलान् भन्ने सोचेर भच्चेक आधारभुत अस्पतालमा फोन गरेँ । स्थानीय प्रहरीहरुसँग पनि बुझेँ तर कहीँ कतैबाट सूचना हात परेन । बल्लतल्ल एकजना स्थानीयले आयुषाको नंबर उपलब्ध गराए । हतारिएर फोन गरेँ । उताबाट परिपक्क आवाजमा ‘हेल्लो’ भन्ने जवाफ आयो । मैले छिटो, छिटो आफ्नो परिचय दिएँ । घटनाबारे खोध्न आतुर थिएँ म । उताबाट जवाफ आयो, ‘ममिलाई गाह्रो भएर गोरखा हस्पिटल ल्याउँदै छौँ । एकछिनमा फोन गर्नु न है ।’ म झनैँ आत्तिएँ । ‘के भयो र ? कसरी आउनु हुन्छ गोरखा ? दुईजना मात्र हो ?’ जस्ता धेरै प्रश्नहरु सोध्न पुगेछु । उताबाट उही ‘एकछिनमा फोन गर्नु न’ भन्ने जवाफ मात्र आयो ।

रातको आठ बजिसकेको थियो । फेरि उही नंबरमा फोन गरे । ‘हामी आउँदै छौँ दिदी । राती अबेला हुन्छ होला आइपुग्दा । आमालाई पापीहरुले लछार–पछार पारे, बुबा पनि साथमा आउनु भाको छैन्’, भन्ने जवाफ आयो । सान्त्वना दिँदै मैले, ‘नआत्तिनु । केही प¥यो भने मलाई जति बेला पनि फोन गर्न सक्छौ । म भोलि भेट्न आउँछु है’, भन्दै फोन राखेँ ।

आयुषाको फोन राखिसकेपछि मेरो मनमा धेरै प्रश्नहरु उठेँ । को होलान् ? कसरी यस्तो अवस्था आयो होला ? जस्ता प्रश्नहरुले मेरो मनमा घर बनायो । मलाई कुनै समाचार ब्रेक गर्नु थिएन । मेरो उद्देश्य कुनै जिसस सदस्य बिरुद्ध समाचार लेख्नु पनि थिएन । मलाई त बस पीडितलाई भेट्नु थियो । भिडियोको र्ददनाक दृश्य बारे बुझ्नु थियो । यावत कुराहरु सोच्दै सोमबारको रात बित्यो ।

मंगलबार गोरखामा यातायात व्यवसायीहरुको बन्द जारी थियो । सधैँ भन्दा अलि ढिलो अफिस आइपुगेको थिएँ । अफिसको केही काम नसोची म आयुषालाई फोन गर्दै सिधै गोरखा अस्पताल पुगेँ । अस्पताल परिसर पुगेको के थिएँ । उताबाट आयुषाको फोन आयो । ‘दिदी म तल इमर्जेन्सीमा छु । सर्ट लगाको छु । बाहिरै अभिएको छु’ भन्दै आयुषाले फोन राखिन् । म पनि सर्ट लगाएको आयुषालाई खोज्दै इमर्जेन्सी वार्डमा पुगेँ । इमर्जेन्सीमा एकजना सानी बहिनी थिइन् । फोनको आवाज अलि परिपक्क जस्तो लागेको थियो । तर, सारै सानी लागेर सोधी हालँे । ‘तिमी आयुषा हो ? सानो उमेरमा पनि बिरामी आमालाई एक्लै अस्पताल ल्याउन सक्ने कत्ति आँटिली त ?’, उनले म सामु दुवै हात जोडेर बेली बिस्तार लगाउन थालिन् ।

मलाई भने भिडियोमा निर्धात कुटिएकी ती महिलालाई हेर्नु थियो । छिटोछिटो, ‘तिम्रो ममी कता हुनुहुन्छ ? पहिला उहाँलाई भेटौँ अनि कुरा गरौँ हैँ’, भने । उनले पनि मलाई हात समात्दै आमा भएतिर लगिन् । भित्र कल्पना धिताल रुदैँ सुतिरहेकी थिइन् । मैले, ‘कस्तो छ हजुरलाई ?’ भनेर सोधेँ । उनले सानो स्वरमा घटनाको बेली बिस्तारा लगाउन थालिन् । च्यातिएका लुगा अनि शरीरको घाउ, चोट देखाउन थालिन् । ‘कति हो हजुरको उमेर ?’ भनेर सोधेँ । उनले ३५ भनिन् । तर, उनी ३५ को देखिन्न थिइन् । सायद घाममा धेरै काम गर्नुपर्ने भएर होला उनको हातगोडा फुटेका थिए । कपाल पनि फुलेको । उनको शरिरबाट गोबरको बासना आइरहेको थियो । रातो धोती लगाएकी कल्पना करिब ४५–५० वर्षकी जस्ती देखिन्थिन् ।

हस्पिटलको बेडमा उनी घाँटीको सपोर्टका लागि लगाउने ‘सर्भिकल कोलर’लगाएकी थिइन् । म पुग्ने बित्तिकै उनी रुन थालिन् । कल्पना सानो स्वरले बोल्दै थिइन् । सानी आयुषा भने आमालाई धेरै नबोल्न अनि आराम गर्न आग्रह गर्दै थिइन् । मलाई पनि त्यहाँ धेरै बस्न मन लागेन । वरपर अरु बिरामीहरु पनि थिए । मैले कल्पनालाई ‘हजुरको फोटो खिच्न मिल्छ ?’, भनेर सोधेँ । उनले सजिलै ‘किन नमिल्नु, संसारलाई देखाइदिनु तिनीहरुले मलाई कस्तो अत्याचार गरेका छन्’, भन्दै थिइन् । घटनाको संवेदनशीलतालाई बुझेर एकपटक सम्पादकलाई फोन गरेँ । ‘यस्तो घटना छ, फोटो खिच्न मिल्छ कि मिल्दैन ?’, भनेर सोधेँ । सम्पादकले यदि पीडितले अनुहार देखाउन राजी छन् भने थोरै कोल्टे पारेर खिच्नु, या पछाडिबाट खिच्नु भन्नु भयो । सम्पादकको सल्लाह अनुसार मैले कल्पनाको कोल्टे फोटो खिचेँ । उनले त पुरै खिच्नु, भिडियो गरेर हाल्दिनु भन्दै थिइन । तर, घटनाको संवेदनशीलतालाई बुझेर मैले त्यसो गरिन ।

जिम्मेवार व्यक्तित्वबाट यो हदसम्म भएको महिला हिंसाको दृश्यले दुखित हुँदै हस्पिटलबाट ठूलो श्वास फेर्दै म बाहिर निस्किएँ । बाहिर आयुषासँग आधा घण्टा जति कुराकानी गरँे । आयुषाले घटनाको बेली बिस्तारा लगाइन् । बिचबिचमा म उसलाई १३ वर्षको बहिनी यति मज्जाले बोल्ने भन्दै तारिफ गर्दै थिएँ । आयुषासँग कुराकानी गर्दै जाँदा उनको कपाल सुमसुम्याउन पुगेछु । बल्ल देखेँ । उनको कपालभरी जुम्रा थिए । कानको लोती पनि चुँडिएको थियो आयुषाको । कुराकानी गर्दै जाँदा सोधेँ, ‘अनि यो कान चाँही के भाको ?’, उनले जवाफ दिइन्, ‘यो त एक वर्ष अगाडि नै हो । बाबाले च्यातिदिनु भाको । मुन्द्रा लगाएको थिएँ । मुन्द्रा तान्दा लोती च्यातियो ।’ आयुषाले खै के के अन्य प्रसंगहरु सुनाउँदै थिइन् । मेरो आँखा भने उसको कपालको जुम्रा र च्यातिएको कानमै अडिरहे ।
बिस्तारै आफूलाई सामान्य बनाएर कुटपिटको घटनातिर केन्द्रित भएँ । तर, मनमा एक चोटी उनीहरुको घरसम्म पुग्नुपर्ला भन्ने हुटहुटी जागिरहेको थियो ।
अस्पतालमा आयुषासँग उनको मामा पनि आएका रहेछन् । उहाँलाई फोन गर्दा ‘बाहिर मिटिङमा व्यस्त छु’ भन्नुभयो । घटनाबारे लगभग सबै जानकारी आइसकेको थियो । म हस्पिटलबाट फर्किएँ ।

अफिस आएर सकेसम्म आफूलाई शान्त बनाएर आरोपित इन्दिरा देवकोटालाई फोन गरेँ । उहाँले एक–दुई घण्डीमा फोन उठाइहाल्नु भयो । ‘म प्रतिक्षा, दरौँदी पत्रिकाबाट’ मात्र के भन्न भ्याएको थिएँ उहाँले म गाडीमा छु एकछिनमा फोन गर्छु भनेर फोन काटिहाल्नु भयो । मैलेपछि पनि उहाँलाई फोन सम्पर्क गर्न कोसिस गरे । तर, फोन उठेन । कल्पना र आयुषासँगको संवादको भरमा समाचार लेखेँ ।

समाचारको शीर्षक थियो, ‘जिसस सदस्य देवकोटाद्धारा महिलामाथि निर्धात कुटपिट’ । कल्पनाको समाचार व्यापक भयो । सरोकारवाला निकायहरुको ध्यानकेन्द्रित ग¥यो समाचारले । मैले यस बीचमा निरन्तर आयुषासँग फोन सम्पर्क गरिरहेको थिएँ । उनीहरु उपचार गराएर बुधबार घर फर्किएका थिए । बिहिबार फेरि आयुषाको घरमा प्रहरी पुगेको खबर पाएँ । पुनः आयुषालाई फोन गरेँ । तर, यो एकैदिनमा के भयो, आयुषा मसँग बोल्न चाहिनन् ।

हिजोसम्म मलाई ‘दिदी यस्तो भयो, उस्तो भयो’ भनेर सबै कुरा भनेकी आयुषाले आज ‘एउटा फोन आयो, पछि गर्छु है’ भन्दै जिसस सदस्यकै शैलीमा फोन काटिन् । प्रहरीबाट सुन्नमा आयो, कल्पनाको परिवारले पीडक पक्षसँग मिलापत्र गरेछ । मिलापत्र गर्नेमा कल्पनाको श्रीमान तुलसीप्रसाद धिताल र कल्पनाका भाइहरु थिए । सायद मैले अस्पतालमा कल्पना र आयुषासंग मिटिङमा छु भन्ने मामाहरुले मिलापत्र गरे ।

आयुषाको कान च्यातिदिने बुबाले आजको उनको भविष्य पनि च्यातिदिए झैँ लाग्यो । फोनमा आयुषा भन्दै थिइन्, ‘दिदी सबैजनाले एउटै गाउँमा बस्नुपर्छ मिल भन्नु भयो । बुबालाई पनि दबाब आयो होला । बुबा र मामासँग कुरा गर्नु न है ।’ हाम्रो अन्तिम पटकको फोन कलमा मैले ‘आमालाई चाँही कस्तो छ ?’ भनेर सोधेको थिएँ । उनले, ‘उस्तै हो दिदी खाना खान सक्नु हुन्न । उठ्न सक्नु हुन्न’, भनेकी थिइन् । केही बेरपछि मामाको फोन आयो । उहाँ भन्दै हुनुहुन्थ्यो, ‘गाउँघरको कुरा हो, यसलाई धेरै न उचालिदिनु भन्न फोन गरेको हुँ ।’


आयुषाको यो बदलिएको बयानले म छाँगाबाट खसेजस्तो मात्र होइन, वर्तमान सामाजिक संरचना देखेर अवाक भएँ । आर्थिक, सामाजिक परिबन्धले थिचिएकी आयुषाहरुले यस्ता घटनाबाट के सिक्छन् होला ? जति ठूलो हिँसाको पहाडले थिचे पनि दाइ, भाइ, बुबा, मामाहरुले चोचोमोचो मिलाएपछि चुपचाुप मिल्नुपर्छ भनेर ? जति क्रन्दन, चित्कार भए पनि सामाजिक सम्बन्ध मिलाउने बहानामा मुटुमाथि ढुंगा राखेर हाँस्न ? कि यी तमाम अन्याय, अत्याचारको पर्दा ध्यार्रर्र च्यात्न ?

प्रतिक्रिया दिनुहोस्