| मङ्लबार, कार्तिक २४, २०८३

विश्व वातावरण दिवस, विविध कार्यक्रम गरी मनाइयो

विश्व वातावरण दिवस, गोरखामा विभिन्न कार्यक्रम गरी मनाएको छ । ‘प्लास्टिकजन्य प्रदुषण न्युनिकरण, हाम्रो दायित्व’ भन्ने नारासहित बिहिबार गोरखा सदरमुकाममा सरसफाइ कार्यक्रम गरेर वातावरण दिवस मनाएको हो ।

गोरखा नगरपालिका र डिभिजन वन कार्यालय गोरखाको संयुक्त आयोजनामा सरसफाई कार्यक्रम गरिएको थियो । कार्यक्रम अन्तरगत सहभागीहरुले गोरखा सदरमुकामस्थित कट्टेलचोकदेखि हरमटारीसम्म सरसफाई गरेको गोरखा नगरपालिकाका वातावरण अधिकृत ध्रुव घिमिरेले बताए । मुख्य बजार क्षेत्रभित्र प्लास्टिकजन्य फोहोर संकलन र सरसफाई अभियान संचालन गरेर वातावरण दिवस मनाएको उनले जानकारी दिए । कार्यक्रमको अवसरमा डेंगी नियन्त्रणका उपयाबारे पनि जानकारी गराएको पालिकाको भनाइ छ ।

सरसफाई कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख मोहनबहादुर थापा, गोरखा नगरपालिकाका नगरप्रमुख कृष्ण राना, डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदन मोहन शाण्डिल्य, नेपाली सेना, नेपाल प्रहरी, उद्योग वाणिज्य संघ, स्वास्थ्य कार्यालय। नागरिक समाज, गोरखा जेसिज लगायत विभिन्न संघसंस्थाहरुको सहभागिता रहेको थियो ।

यसैगरी, विश्व वातावरण दिवसको सन्दर्भमा बिहिबार गण्डकी गाउँपालिकामा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । डिभिजन वन कार्यालय गोरखाले गण्डकी गाउँपालिका वडा नं १ मकैसिङको विजय भवानी माविमा बृक्षारोपण गरेर वातावरण दिवस मनाएको हो ।

धुपी, अशोक, निमलगायत विभिन्न विरुवाहरु रोपेर वातावरण दिवस मनाएको डिभिजन वन कार्यालय गोरखाले जनाएको छ ।

बृक्षारोपण कार्यक्रममा गण्डकी सव–डिभिजन वन कार्यालय सिउरेनीटारका वन अधिकृत रवि आनन्द गोपाली, गण्डकी गाउँपालिका वडा नं १ का वडाअध्यक्ष तोपमान गुरुङ, विजय भवानी माविका प्रधानाध्यापक बिल बहादुर चेपाङ, गण्डकी सव डिभिजन वन कार्यालयका कर्मचारीहरु, विद्यालय शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्