
विश्व सम्पदा सूचीमा सिफारिस एक मिठो गफ
गोरखाका ऐतिहासिक, पुरातात्विक सम्पदाहरुलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गर्ने विषय धेरै पटक उब्जिरहने विषयहरुमध्यको एक हो । गोरखाका ऐतिहासिक, पुरातात्विक सम्पदालाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने विषय पनि गोरखकाली रबर उद्योग, पालुङ्टार एयरपोर्ट पुनसञ्चालन गर्ने जस्तै, १२०० मेगावाटको बूढीगण्डकी आयोजना निर्माण गर्नेजस्तै अर्को मिठो गफ हो ।
यसअघि गोरखा दरबार तथा गोरखा संग्रहालय क्षेत्रलाई समेटेर विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने पहल नभएका होइनन्, तर यहाँका बासिन्दाले सर्पचाहिँ मरोस्, लठ्ठीचाहिँ नभाँचियोस् भन्ने सर्तझै सर्तमाथि सर्त तेस्याउँदा तमाम प्रयासहरु असफल भए । ‘ए, हामीचाहिँ बस हेर्न बसपार्क पुग्नु पर्ने, हामीचाहिँ जंगली युगका मान्छेले झै पुरातन शैलीको जीवनयापन गर्ने, अनि देश, विदेशबाट आधुनिक मान्छेहरु आएर हामीलाई हेरेर रमाइलो लिने ?’, विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने पहलका लागि भएको छलफल कार्यक्रममा एकजना बक्ताको धारणा हो यो ।
विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रियास्वरुप केही बर्षअघि यहाँ आधुनिक घरहरु निर्माण गर्न प्रतिवन्ध गरिएको थियो तर, भूकम्पका बेला राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट अनुदान लिने प्रयोजनका लागि सो प्रतिबन्ध फुकुवा भयो । त्यसपछि पुनः प्रयास भएको छैन ।
ग्राउण्ड रियालिटी यस्तो छ तर, प्रदेश सरकारले आउँदो बर्षका लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा फेरि पनि गोरखा दरबार, लिगलिगकोट दरबार र मनकामना मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने घोषणा गरेको छ ।
सफल भए शुभकामना छ, तर गोरखाका बासिन्दाको यसमा सकारात्मक सहयोग रहनेछैन । कुनै पनि मापदण्ड पूरा नगरी सूचीकृत हुने भए यहाँका बासिन्दा तयार छन् । बजारका पढालेखा, आधुनिक युगको खाँचो पूर्ति गर्न सक्ने नगरबासी जिल्लाबाटै पलायन भइसके । त्यसैले यो व्यापक अर्थ र महत्वधारी एजेण्डा सार्थक बन्न कठिनाइ भएको छ ।




