| मङ्लबार, कार्तिक २४, २०८३

उग्र बन्दै यातायात व्यवसायी, यात्रुमाथि जथाभावी कुटपिट, स्कूल बस पनि चलेन

सिण्डिकेट माग गर्दै आन्दोलनमा उत्रिएका यातायात व्यवसायी तथा मजदुरहरु दिनप्रतिदिन उग्र बन्दै गइरहेका छन् । आफ्नो कालो नम्बर प्लेटका गाडीहरु थन्क्याएर हड्तालमा उत्रिन आग्रह गरेका उनीहरु निजी गाडी, पर्यटकका गाडी पनि बन्द गराइरहेका छन् । गाडी तोडफोडदेखि व्यक्तिमाथि कुटपिट गर्न थालेका छन् ।
बन्दकर्ताहरुले सार्वजनिक सडकमा आफ्नै गाडीमा यात्रा गरेका यात्रुहरुमाथि निर्घात कुटपिट गरेका छन् । पालुङटार नगरपालिका १० मिरकोटका कृष्णहरि देवकोटामाथि गत शनिबार कुटपिट गरेका छन् । रातो नम्बरप्लेटको आफ्नै बोलेरो जीपमा सवार उनीमाथि बाह्रकिलोमा आक्रमण गरेका हुन् । ‘गोरखा बजारको ग्यारेजमा गाडी बनाएर घर फर्कदै गर्दा ममाथि आक्रमण गरे’, उनले भने, ‘उनीहरुले रातो प्लेटको गाडी रोक्ने भनेका थिएनन् । तैपनि रोके । म रोकिएँ । एकछिन पख्नु, चिया, चिसो खाँदै गर्नु भने । म भोलाको पसलमा चिसो खाँदै थिएँ । त्यही बेला एक्कासी नेत्रबहादुर कुमाल आएर मलाई आक्रमण गरे । तँलाई जहाँ भेटे पनि मार्छु भनेर धम्की पनि दिए ।’ उनीविरुद्ध प्रहरी चौकी रातामाटे सेरामा जाहेरी दर्ता गरेको देवकोटाले बताएका छन् ।
कुटाइ खाएको दुखेसो सुनाउँदै प्रहरी समक्ष पुग्दा शरण दिनुको साँटो प्रहरीले उल्टै आफूलाई दुईहजार रुपैयाँ जरिबाना तिराएको उनको गुनासो छ ।
त्यस्तै गोरखा नगरपालिका १० टक्सारका अञ्जन घर्ती र वडा नं। ९ टक्सारका प्रशान्त आलेमाथि पनि कुटपिट भएको छ । निजी नंबर प्लेटको बोलेरो जीपमा पसलको सामान बारपाक पु¥याएर फर्किदै गर्दा आइतबार राती १२ बजे गोरखा नगरपालिका १० छेपेटारमा उनीहरुमाथि कुटपिट गरेका हुन् । बाटो छेकेर बसेका बन्दकर्ताहरुले कुटपिट गरेका पिडितहरुले बताएका छन् ।
आ–आफ्ना भाडाका सवारी साधन थन्क्याएर आन्दोलनमा उत्रिन आग्रह गरे पनि निजी सवारी साधनका यात्रु कुटिएका छन् । निजी सवारी साधनका यात्रु असुरक्षित हुँदा पनि राज्य संयन्त्र, सुरक्षा निकाय मौन छन् । कमजोर सुरक्षा व्यवस्था भएको अबस्थामा जो कोही, जहाँ पनि, जहिले पनि असुरक्षित हुने भन्दै सर्वसाधारणले गुनासो गरेका छन् ।
बन्दको दुश्प्रभावस्वरुप सोमबार सेण्ट मेरिज र सेण्ट जोसेफ स्कूलहरु पनि बन्द भए । विद्यार्थी बोक्ने कालो नंबर प्लेटका बसहरुले बन्दको समर्थन गरेका कारण विद्यालय खुल्न नसकेको विद्यालय प्रशासनले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्