| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका ग्रामीण क्षेत्र जाने मुख्य सडक अवरुद्ध

पहिरोका कारण गोरखाका ग्रामीण क्षेत्र प्रवेश गर्ने मुख्य सडक अवरुद्ध बनेको छ । गोरखा–आरुघाट सडकको ढुङ्गागाडे खण्डमा पहिरो जाँदा सवारी आवागमन ठप्प भएको हो ।
ग्रामीण क्षेत्रतर्फ जाने मुख्य सडक पहिरोले क्षतिग्रस्त हुँदा उत्तरी गोरखा प्रवेश गर्ने यात्रुले सास्ती खेप्नु परेको छ । सो सडक पहिरिएपछि सदरमुकामबाट सहिदलखन गाउँपालिका, भीमसेनथापा गाउँपालिका, आरुघाट गाउँपालिका, धार्चे तथा चुमनुब्री गाउँपालिकातर्फ जाने सवारी साधन चल्न नसकेका प्रहरीले जनाएको छ । ‘ढुङ्गागाढेको खोल्सामा कल्भर्ट भासिएको छ’, डिएसपी इन्द्रप्रसाद सुवेदीले भने, ‘त्यहाँबाट सवारी चल्न सकेका छैनन् ।’
सडक क्षतिग्रस्त भएपछि पूर्वाधार विकास कार्यालयले साइनबोर्ड राखी अन्य वैकल्पिक मार्ग अपनाउन आग्रह गरेको छ । साथै जिल्ला प्रशासन कार्यालयले सार्वजनि सूचना जारी गरी सो सडक मर्मत नहुञ्जेल वैकल्पिक मार्ग अपनाउन सूचित गरेको छ ।
सहायक जिल्ला प्रमुख अधिकारी एवं विपद् फोकल पर्सन चित्राङ्गत बरालले गोरखा–आरुघाट सडकमा चारपाङ्ग्रे सवारी साधान आवतजावत हुन नसक्ने गरी क्षति पुगेको जनाएका छन् । उनीद्वारा जारी सूचनामा हालका लागि वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ । साथै, सो सडक छिटोभन्दा छिटो मर्मत गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिइएको छ ।
पूर्वाधार कार्यालयका प्रमुख गणेश सुवेदीले सो सडक यथासीघ्र मर्मत गर्ने जनाएका छन् । ‘केही दिनभित्रै मर्मत गरेर सवारी साधन सुचारु गराउँछौँ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्