| मङ्लबार, कार्तिक २४, २०८३

गोरखालाई सुरक्षित वन्यजन्तु जिल्ला बनाउने तयारी

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा जिल्लास्तरीय बन्यजन्तु अपराध नियन्त्रण इकाईको बैठक सम्पन्न भएको छ । डिभिजन वन कार्यालय गोरखा, मनासलु संरक्षण क्षेत्र आयोजना र मनासलु संरक्षण क्षेत्र सम्पर्क कार्यालयको आयोजनामा गत शुक्रबार चुमनुब्रीको केन्द्र फिलममा बैठक सम्पन्न भएको हो ।
जिल्लामा हुने वन्यजन्तु सम्बन्धी अपराध नियन्त्रण र नियमन गर्नु बैठकको मुख्य उद्देश्य रहेको मनासलु संरक्षण क्षेत्र आयोजनाका प्रमुख सन्तोष शेरचनले बताए । उनका अनुसार मनासलु क्षेत्र र समग्र गोरखा जिल्लालाई नै सुरक्षित वन्यजन्तु जिल्ला बनाउने उद्देश्य सहित बैठक आयोजना गरिएको हो । ‘प्रकृति र संस्कृतिको संरक्षण गर्नुपर्छ’ भन्ने सन्देश कार्यक्रमको रहेको उनले बताएका छन् ।
डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदन मोहन शाण्डिल्यले जिल्लामा बन्यजन्तु सम्बन्धी अपराधको दर न्युन रहेको जनाए । यद्यपी, बन्यजन्तु अपराध रोक थामका लागि आवश्यक सतर्कता अपनाउन जरुरी रहेको उनले बताएका छन् । बैठकले जिल्लामा बन्यजन्तु सम्बन्धी अपराध नियन्त्रणका लागि सरोकारवाला निकायहरुसँग आवश्यक समन्वय गर्ने निर्णय गरेको उनको भनाइ छ । साथै गोरखालाई वन्यजन्तु सुरक्षित जिल्ला बनाउन प्रयास गर्ने निर्णय पनि गरिएको छ । डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदन मोहन शाण्डिल्यको अध्यक्षता एवं चुमनुब्री गाउँ पालिका की उपाध्यक्ष लक्ष्मि गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल, जिल्ला न्यायधिस शिवप्रसाद रानाभाट, जिल्ला प्रहरी प्रमुख एसपी भरतबहादुर विक, जिल्ला अनुसन्धान प्रमुख हुमाकान्त पाण्डे, मनासलु संरक्षण क्षेत्र आयोजनाका प्रमुख सन्तोष शेरचन, चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछाने, चुमनुब्री –३ का वडाअध्यक्ष रामकुमार गुरुङ लगायतले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्