| शनिबार, कार्तिक २१, २०८३

सिण्डिकेट पक्षधरले गरेको बन्दले यात्रुलाई सास्ती, प्रहरीकै सामु बारकिलोमा गाडी तोडफोड

१. शिक्षा सेवा आयोगमा सहभागी हुन पोखरा गएका गोरखाका विकास श्रेष्ठ र सम्झना श्रेष्ठ परीक्षा सकेर शनिबार घर फर्कनु पर्ने थियो । उनीहरुजस्तै धेरै जना परीक्षापछि आफ्नो गृहजिल्ला फर्कनु पर्ने थियो तर, सिण्डिकेटका पक्षधरले गण्डकी प्रदेशभर गरेको यातायात हड्तालका कारण उनीहरु पोखरामै अलपत्र परे ।
‘आइतबार जसरी पनि स्कूल पुग्नु पर्ने थियो । हामीजस्तै अलपत्र पर्ने धेरै जना थियौँ । एकछिन त यातायात बन्दको बिरोध गर्दै नाराजुलुस पनि ग¥यौं तर, हाम्रो आवाज न बन्दकर्ताले सुन्यो, न राज्यपक्षले’, साँझ हस्याङफस्याङ गर्दै गोरखा आइपुगेको श्रेष्ठ दम्पत्तिले भने, ‘अनि पच्चीस(पच्चीससयमा दुईवटा पठाओ बाइक लिएर आयौँ । के गर्नु पाँचसय पनि भाडा नलाग्ने ठाउँमा पाँचहजार तिर्नुप¥यो ।’ भोलि पनि अर्को पठाओ बाइकमा आरुघाटस्थित स्कूल जानुपर्ने उनले दुखेसो प्रकट गरे । ‘के भनिसाध्य छ र यो बन्दले दुख त कति कति’, विकासले भने ।

२. गोरखा नगरपालिका ११ सोह्रकिला ेकी एञ्जल थापा शनिबार स्कूल विदा भएको मौका छोपेर मोबाइल मर्मत गर्न गोरखा बजार आउनु पर्नेथियो । तर सार्वजनिक यातायात बन्द हुँदा चर्को घाममा हिडेर गोरखा बजार आइपुगिन् । फर्कँदासम्म गाडी चलिहाल्छ कि भन्ने मनभित्र आशा थियो तर, नचलेपछि हिँडेरै घर फर्कनुको विकल्प भएन । ‘दुख भयो नि’, उनले भनिन्, ‘१५ मिनेटको बाटो कति घण्टा पो हिँड्नुप¥यो । त्यहाँमाथि यस्तो चर्को घाम ।’

३. चितवनबाट पूजा गर्नका लागि १५ जना भक्तजन टोली शनिबार कालोप्लेटको रिजर्भ गाडी भीमसेनथापा गाउँपालिका ६ अश्राङ जानै पर्ने थियो । बिहान गोरखातर्फ आउँदै गर्दा उनीहरुले मुग्लिन, मझुवा, बारकिलो, आहाले लगायतका धेरै ठाउँमा लफडा सामना गर्नुप¥यो । ‘जसोतसो दसबिन्ती गरेर अश्राङ त पुगियो तर, ६ बजेअघि नफर्कने उर्दी गरेका थिए’, यात्रु सडकमा अलपत्र पारेर बसिरहेका चालकले भने, ‘पूजा त बेलैमा सकियो तैपनि, उर्दी त मान्नै प¥यो । हिजोभर्खर यही गोरखामा एउटा गाडी फुटाए । छ बजे अघि गयो भने के हो के हो ।’ उनले बोलिरहँदा गोरखामा सवारी साधन सुरक्षित छैनन् भन्ने आशय व्यक्त हुन्थ्यो ।

आफूहरुमात्र व्यवसाय गर्न पाउनुपर्ने माग गर्दै गरिएको सार्वजनिक यातयात बन्दले यात्रुहरुले चरम सास्ती भोग्नु परेको छ । गोरखा प्रवेश गर्ने मुख्य सडक आँबुखैरेनी गोरखाको २४ किलोमिटर सडक कैयौं यात्रु लर्कन लाएर हिँड्न बाध्य छन् । चर्को घामको ताप र पिच सडकको तातो राप खेपेर यात्रुहरु गह्रुङ्गा झोला बोक्दै, बलिद्र पसिना धारा झार्दै यात्रा गरिरहेको दृश्य देखिन्छ ।

यात्रुबोक्ने रातो नम्बरप्लेटको सवारीको बिरोधमा गरिएको बन्दमा रातैप्लेटका गाडीले यात्रु ओसारिरहेको दृश्य पनि बाक्लै देखिन्छ । गण्डकी प्रदेशमा राइड सेयरिङ नियमावली लागू गरेको बिरोधमा आन्दोलमा उत्रिएका यातायात व्यवसायीले शुक्रबार गोरखामा यात्रुवाहक बस तोडफोड गरेका छन् । ड्युटीमा रहेको प्रहरीकै सामु २०, ३० जनाको समूहमा भेला भएका युवाहरुले दिउँसो करिव तीनबजे बा ५ ख ५३९९ नम्वरको बस तोडफोड गरेका हुन् ।

तोडफोडबाट गाडीको अगाडिको सिसामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । काठमाडौंबाट यात्रु लिएर गोरखा आउने क्रममा उक्त बसमाथि तोडफोड भएको हो । गण्डकी प्रदेश सरकारले रातो नम्बर प्लेटको गाडीलाई पनि यात्रु ओसारपोसार गर्न दिने निर्णय गरेको भन्दै यातायात व्यवसायीले अनिश्चित कालीन सार्वजनिक यातायात बन्दको घोषणा गरेका हुन् । सार्वजनिक यातायात बचाउ संघर्ष समिति गठन गरी सोमबारसम्म गण्डकी प्रदेशभर र ऐन नसच्याए सोमबारदेखि देशभर सार्वजनिक यातायात बन्दको आव्हान गरेका छन् ।

कसैले सार्वजनिक सेवा सञ्चालन गर्न चाहेमा निर्वाध रुपमा सवारी चलाउने वातावरण बनाउने गोरखाका एसपी भरत विकको भनाइ छ । ‘सार्वजनिक सवारी साधन कसैले रोकतोक गर्न पाउँदैन । निर्वाध रुपमा चलाउन पाउनुपर्छ । त्यसको सुनिश्चितता हामी गर्छौँ, उनले भने ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राइड सेयरिङ सार्वजनिक सवारीको प्रतिस्पर्धी नभएकाले यसमा बिरोध गर्नुपर्ने कारण नरहेको स्पष्ट पारेका छन् । राइड सेयरिङ विश्वभर भइरहेको अभ्यास भएकाले यसको बिरोध गर्नु उचित नहुने उनको भनाइ छ । ‘राइड सेयरिङ लामो दुरीमा चलाउने होइन । पोखराबाट दमौली, लमजुङ, गोरखा काठमाडौं जाने त होइन नि’, उनले भने, ‘२० किलोमिटर भन्दा टाढा जान नपाइने नियमा वलीमा छ । त्यसैलै सार्वजनिक यातायातका व्यवसायीले यसलाई प्रतिस्पर्धाको रुपमा लिन भएन ।’ सर्बोच्चले सेवा रोक्न नपाइने तर कानुन बनाएर सेवा सञ्चालन गर्नु भनेको र रातो र कालो नम्बर प्लेट नखुलाएको उनले बताए ।

पठाओका नाममा गोरखाका पनि विभिन्न ठाउँमा र अन्य जिल्लामा पनि गैरकानूनी रुपमा राइड सेयरिङ चलिरहेकाले यसलाई नियममा बाँध्न खोजिएको मुख्यमन्त्री पाण्डेको भनाइ छ । ‘राइड सेयरिङ कुनै नयाँ कुरा होइन, संसारभर प्रचलनमा छ । काठमाडौँ, पोखरा लगायत देशका विभिन्न स्थानमा पनि छ’, उनले भने, ‘तर कानुनबाहिर संचालनमा रहेकाले कानुनी दायरामा मात्र ल्याइएको हो ।’ यसबाट यात्रुको सुरक्षा, बिमा ग्यारेन्टी र राज्यलाई कर प्राप्त हुने उनको भनाइ छ ।

प्रहरीकै सामु बारकिलोमा गाडी तोडफोड प्रतिस्पर्धा नहुँदा सिण्डिकेट हुने तथा सेवा दिने निकाय धेरै भएमा प्रतिस्पर्धा हुने र सर्वसाधारण यात्रुलाई राहत हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्