
समस्यै समस्यामा योगी समुदाय
शिव उप्रेती
गोरखा ः शीरमा साफा, कानमा कुण्डल, ज्यानमा ज्वारीकोट र कुर्था, घाँटीमा नाथजनै, जाँघमा धरो(कछाड), ६० बर्षका बलदेवनाथ योगी राती सुत्दाबाहेक सँधै यही पहिरनमा हुन्छन् । शीरदेखि पाउसम्म पहेँलो पहिरनमा हिँड्दा भेट हुने सबैले उनलाई बाबा महाराज भनेर सम्बोधन गर्छन् । यसैमा उनलाई अनुपम खुशी मिल्छ । आनन्द दिने यो पहिरन लगाउन उनले २३ बर्षको उमेरदेखि सुरु गरेका हुन् ।
‘जुनदिन गुरु महाराजले कान छेँडिदिनुभयो, र यो पोशाक लगाइदिनु भयो, त्यहीँदेखि लगाएको हुँ’, उनी भन्छन्, ‘मरेपछि अर्को कुरा, बाँचुञ्जेल लगाउन छोड्दिन ।’
गोरखा नगरपालिका ९ ठिँगुरेस्वाँराका आदिवासी उनी यही पहिरन लगाएर हातमा थैलो बोकी घरदैलो चाहार्छन् । ‘बाबा महाराज आउनुभयो भनी सबै खुशी हुन्छन् । औंशी पुर्नेमा त म दैलामा नपुगेसम्म भोकभोकै मलाई पर्खिबस्नुहुन्छ’, गाउँलेले दिएको मर्यादा सम्झँदै उनी भन्छन्, ‘उहाँहरुले दिएको दान, दछिना, सिदा लिन्छु । उहाँहरु पनि गरह काटियो भनेर खुशी हुनुहुन्छ । मलाई पनि जहान परिबार पाल्ने गर्जो टर्छ । यो उमेरसम्म यसरी नै चलेको छ ।’ ठिगुँरेस्वारामा करिब ५० घर योगी समुदायको बसोबास छ । उनीजस्ता कानचिरा जोगी पाँच जना छन् ।
अहिलेसम्मको अनुभवमा उनलाई आफ्नो जीवनसंग कुनै गुनासो छैन । तर नयाँ पुस्ताले संस्कार, संस्कृति नअपनाएको बारेमा भने भारी चिन्ता छ । ‘अहिले विदेश नगएका कुनै घर बाँकी छैन । विदेश नगएको भए नेपालमै जागिर खाएकाहरु छन्’, उनी भन्छन्, ‘विदेश गएका, जागिर खाएका छोराछोरीले अब यो पेशा गर्दैनन् । हामीलाई पनि छोड्नु भनिरहन्छन् ।’ कानचिराहरु चार जना ६० नाघिसकेका छन् । एकजना मात्र करिब ३५ बर्षका छन् ।
नाथ संप्रदायका कानचिरा योगीहरुलाई गोरखनाथका पुजारीहरुले प्रोत्साहन र स्थान नदिएकाले नयाँ पुस्ता त्यसतर्फ आकर्षित नभएको उनको भनाइ छ । ‘लाखौं खर्च गरेर कान चिर्नुपर्छ । कान चिरेपछि मान्छे बिरामी हुन्छन् । सुत्केरीलाई झैं जतन गरेर निको गर्नुपर्छ । यस्तो मुस्किलले कान चिरेर जोगी भएकाहरुलाई गोरखनाथका पुजारीहरु गेटभित्र छिर्न दिँदैनन् । कुकुरलाईझैँ गेटबाहिरै आचा भनेर धपाउँछन्’, उनी भन्छन्, ‘पहिले गोरखनाथमा ११ जना पुजारी थिए । पछि घटेर चार जना भए । अहिले त्यो पनि घटेर दुईजना मात्र बाँकी छन्, एकजना ७५ कटेका, एकजना ६० कटेका । हाम्रो गाउँका एकजना नयाँ केटाले पाल्पा गएर कान चिरेर आएको थियो । उसलाई पुजारी बन्न दिएको भए हुन्थ्यो, तर मरेकाटे दिँदैनन् । अनि कसरी संस्कृति, संस्कार धानिन्छ ?’ कानचिराहरुले पहिलेझै कात्तिक र चैतमा फेरी लाउँदै हिड्न पनि छाडेका, घरदैलोमा थैलो बोकेर हिँड्न पनि छाडेका उनी गुनासो गर्छन् । ‘अहिले त विभिन्न धर्म मान्नेहरु छन् । उनीहरुको घरमा त फेरी लाउन पाइँदैन । कुन कसको घर हो, चिनेको हुँदैन । नचिनीकन फेरी लगायो भने उठेर लम्कीझम्की गर्छन् । आधा रातमा भाग्नु पर्छ’, उनी भन्छन्, ‘संस्कृति जोगाउन जताततै गाह्रो छ ।’
पृथ्वीनारायण शाहलाई आशिर्वाद दिने देवता गोरखनाथका पुजारी जोगी समुदायको संस्कृति धरापमा पर्दा यसको जगेर्ना गर्न कतैबाट पनि पहल नभएको अर्का कर्ण योगीको गुनासो छ । ‘न सरकारले पहल गर्छ, न आफ्नै समुदायले पहल गर्छ’, उनी भन्छन्, ‘हाम्रै समुदायका संरक्षक गोरखनाथका पुजारीले पनि देखि सहँदैनन् । कोहीचाहिँ योगी थर फेरि क्षेत्री कुँबर राख्ने अभियान चलाउँछन् ।’ भित्रबाट र बाहिरबाट प्रहार हुँदा योगी समुदाय जोखिममा परेको उनको भनाइ छ ।
गोरखामा सबैभन्दा धेरै योगी समुदायको बसोबास ठिँगुरेस्वारामा बस्छन् । यहाँ उनीहरुलाई पृथ्वीनारायण शाहका पालादेखि गोरखनाथ गुठीको व्यवस्था छ । शिखरडाँडामा पनि करिब ३० घर छन् । ‘हामी गोरखनाथ गुठीमा बस्छौँ । बस्ने, गरिखाने जग्गा छैन भनुँ भने तीनसय रोपनी जग्गा छ । छ भनुँभने आफ्नो नाममा छैन’, उनी भन्छन्, ‘यहाँका बासिन्दालाई दुई पैसाको खाँचो प¥यो र वैंकमा जग्गा धितो राखेर समस्या टारौँ भन्यो भने अधिनस्थ गुठी वैंकले नराख्ने रहेछ । यो ठूलो समस्या छ ।’
थर फेर्ने लहरले गर्दा आफ्नो समुदाय लोप हुने खतरामा रहेको उनको अर्को गुनासो छ । ‘हाम्रा पितापुर्खा घिमिरे हौं । कानचिरेर बाउबाजेको पालादेखि जोगी, योगी भएको हामी अहिले फेरि नागरिकतामा कुँबर क्षेत्री लेखौं भनेर राष्ट्रिय अभियान चलिरहेको छ । यसले त हाम्रो पहिचान मेटिन्छ । खै कुरो बुझेको ?’ आफ्नो जातीय पहिचान जोगाउन सबैको चासो र चिन्ता रहनु पर्ने उनले बताए ।




