| मङ्लबार, कार्तिक २४, २०८३

गोरखा नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

गोरखा नगरपालिका पूर्ण खोप पालिका घोषणा तथा दिगोपना सुनिश्चितता गरिएको छ । बुधबार एक कार्यक्रमकाबीच नगरपालिकालाई पूर्ण खोप तथा दिगोपना सुनिश्चितता पालिका घोषणा गरिएको हो ।
१६ देखि २३ महिनाभित्रका बालबालिकाले १५ महिनाभित्र लगाउनुपर्ने सबै खोप लाए नलाएको र १५ महिनामुनिका बालबालिकाले नियमित खोप लाए नलाएको सर्वेक्षण गरी पालिकालाई पूर्ण खोप पालिका घोषणा तथा दिगोपना सुनिश्चितता गरिएको गोरखा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मीले बताए ।
‘हाम्रो पालिकामा १५ महिनामुनिका ६ सय ७२ जना बालबालिका छन् भने १६ देखि २३ महिनाभित्रका ४ सय ७८ जना बालबालिका छन्,’ उनले भने, ‘ती सबैले लगाउनुपर्ने खोप लाए नलाएको र नियमित भए नभएको भनी घरधुरी सर्वेक्षण गर्दा सबैले खोप लाएको पाइयो अनि पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।’
कार्यक्रममा गोरखा नगरपालिकाका नगरप्रमुख कृष्ण राना, जिल्ला समन्वय समिति प्रमुख मोहन थापा, प्रमुख प्रशासकीय अधिकृत एकदेव खनाल, प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका प्रमुख यामप्रसाद शर्मा, नगरपालिकाका कर्मचारी, स्वास्थ्यकर्मी, जनप्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्