| मङ्लबार, कार्तिक २४, २०८३

बारपाक सुलिकोट बन्यो ‘प्यान उत्कृष्ट गाउँपालिका पुरस्कार–२०८२’ को विजेता


गोरखाको बारपाक सुलिकोट गाउँपालिका प्रिन्सिपल एसोसिएसन अफ नेपाल (प्यान)को उत्कृष्ट गाउँपालिका पुरस्कार–२०८२ को विजेता बनेको छ । प्यानको २५ वटा सूचाङ्कको आधारमा बारपाक सुलिकोट गाउँपालिका गण्डकी प्रदेशकै उत्कृष्ट पालिका बनेपछि पालिका प्यान उत्कृष्ट गाउँपालिका पुरस्कार–२०८२ को विजेता बनेको हो ।

पालिकाले शिक्षाको क्षेत्रमा देखाएको नेतृत्व, प्रतिवद्धता र नविन पहलका कारण प्यान उत्कृष्ट गाउँपालिका पुरस्कार २०८२ को विजेता बनेको उल्लेख छ । प्यानले हरेक वर्ष देशको सातै वटा प्रदेशहरुबाट एउटा उत्कृष्ट पालिका, एउटा उत्कृष्ट विद्यालय र एकजना उत्कृष्ट प्रध्यानध्यापक छनोट गर्छ । गण्डकी प्रदेशको हकमा यो वर्षको उत्कृष्ट पालिका पुरस्कारको विजेता बारपाक सुलिकोट गाउँपालिका बनेको प्यानको गोरखा जिल्ला संयोजक एवं गोरखा नगरपालिका वडा नं ८ स्थित सरस्वती मावि आहालेका प्रधानाध्यापक मेघनाथ लामिछानेले बताए ।

प्रदेशभरिको उत्कृष्ट पालिका बन्नु ठुलो उपलब्धि रहेको उनले जानकारी दिए । ‘प्यानले आफ्नै ढङ्गले सूचाङ्कहरु तयार गरेर अध्ययन गरेको हुन्छ । अध्ययन प्रक्रियामा पालिकालाई संलग्न गराएको हुँदैन’, उनले भने, ‘अध्ययन प्रक्रिया पूरा गरेपछि सूचाङ्कको आधामा धेरै अंक ल्याउने पालिका, विद्यालय र प्रधानाध्यापकलाई खबर गरिन्छ । यो वर्ष प्रदेशको उत्कृष्ट पालिका बारपाक सुलिकोट बनेको छ ।’ यही जेठ २३ गते पोखरा स्थित सभागृहमा एक कार्यक्रमका बीच विजेता पालिकाकालाई पुरस्कृत गर्ने कार्यक्रम रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्