| मङ्लबार, कार्तिक २४, २०८३

भच्चेक मोडर्न अस्पताल एक सातादेखि बन्द

अजिरकोट गाउँपालिका वडा नं ३ भच्चेक बजारमा रहेको ‘भच्चेक मोडर्न अस्पताल’ बन्द भएको छ । २०७५ सालदेखि संचालनमा आएको उक्त अस्पताल विगत एक सातादेखि बन्द भएको हो ।
केही समयअघि सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको संयोजकत्वमा गएको अनुगमन टोलीलले अस्पताल आवश्यक मापदण्ड पूरा नगरी संचालन गरेको भेटाएको थियो । गत फागुनमा गएको उक्त अनुगमन टोलीले भच्चेक मोडर्न अस्पताललाई आवश्यक व्यवस्थापन मिलाए मात्र संचालनमा आउन निर्देशन समेत दिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए ।
‘उहाँहरुले व्यवसाय दर्ता त गर्नु भएको छ तर त्यसको नविकरणको काम भने नभएको पाइयो’, उनले भने, ‘साथै, मयाद गुज्रेको औषधी छुट्टै राख्ने, मूल्य सूची राख्ने, भिडियो एक्सरे गर्ने कोठालाई एक्सरे प्रुफ बनाएर मात्र सेवा सुरु गर्ने र औषधीको सिरिञ्जहरु राम्रोसँग व्यवस्थापन गर्ने भनी निर्देशन दिएका थियौँ ।’ अनुगमनका क्रममा अस्पताल अव्यवस्थित रुपमा संचालन भईरहेको पाइएको र कार्यालयले सही व्यवस्थापन गरेर मात्र व्यवसाय संचालन गर्न निर्देशन दिएको सहायक सिडियो बरालले बताएका छन् ।
अजिरकोट गाउँपालिकाकी उपाध्यक्ष अनिता भुजेलले पालिकाले भच्चेक मोडर्न अस्पताललाई पालिकाको दर्ता प्रक्रियामा आउन अनुरोध गरेको बताएकी छिन् । ‘हाम्रो अनुरोधपछि उहाँहरु आउनु पनि भयो । तर, मापदण्ड बिनै दर्ता प्रक्रियामा आएको देखियो’, उनले भनिन्, ‘अस्पताल आँफैमा संवेदनशील क्षेत्र हो । त्यसैले मापदण्ड पूरा नभई दर्ता हुन आएका व्यवसायहरु दर्ता नगरेका हौँ ।’ आफूहरुले पालिकाभित्र व्यवसायहरु संचालनमा कुनै रोक्टोक् नलगाएको उनले बताएकी छिन् ।
उनी भन्छिन, ‘भच्चेक मोडर्न अस्पताल बन्द हुनुमा पालिकाको कुनै हात छैन् । मोडर्न अस्पताल नजिकै हाम्रो भच्चेक आधारभुत अस्पताल पनि संचालनरत्त छ । सहुलियतमा स्वास्थ्य सेवा पाउने भएपछि नागरिकहरु महङ्गो नीजि अस्पतालमा नगएका होलान् ।’ पालिकामा कुनै व्यवसाय संचालन गर्दा अनिवार्य रुपमा दर्ता गरेर मात्र संचालन गर्नुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्