
विप्लव नेतृत्वको नेकपा उत्पादनमुखी काममा व्यस्त
नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी अहिले उत्पादनमुखी काममा व्यस्त छ । सो पार्टीको गोरखा र लम्जुङ जिल्ला समितिले गोरखाको पालुङटारमा संयुक्त रुपमा धानखेती सुरु गरेको छ ।
आत्मनिर्भर अर्थतन्त्र निर्माणको लक्ष्यसहित अघि बढिरहेको सो पार्टीले पालुङ्टार ३ तल्लो सेराको बाँझो रहेको ४५ रोपनी जग्गामा धानखेती गर्न लागेको छ । धानखेतीका लागि बिउ राखिसकिएको नेकपा गोरखाका इञ्चार्ज कपिल सीले जानकारी दिए । ‘तीन जना किसानको काँस फुलेको बाँझो जग्गा रहेछ । बाँझो जग्गालाई हरियाली बनाउने भन्ने हाम्रो पार्टीको केन्द्रीय नीति पनि छ । त्यसैले त्यो जग्गा पनि हामीले खेती गर्न भनेर हामीले पाँच बर्षका लागि सम्झौता गरेर लियौँ’, सीले भने, ‘बिउ राख्यौँ । अब आउँदो असार ७ गते रोपाईँ गर्ने तयारी गरेका छौँ ।’
कामका लागि स्थानीय कामदारलाई नै परिचालन गर्ने उनले बताए । ‘खेतमा रोपाइँ गर्न खेताला त चाहियो, त्यसका लागि हामीले प्रचलित ज्यालामा स्थानीय कामदारलाई परिचालन गर्छौँ’ उनले भने, ‘यो बर्ष ४५ रोपनीमात्र पायौँ । अझ हामी थप्दै जानेछौँ । धान मात्र पनि होइन, आलु लगायत अरु खेती पनि गर्नेछौं ।’ सिजनमा सेराफाँटमा आलु पनि खेती गर्ने योजना रहेको उनले बताए ।
कपिल सीका अनुसार, यसवर्ष नेकपाले देशभरि ठूलो क्षेत्रफलमा धान उत्पादन गर्ने तयारी गरेको छ । ‘यो बर्ष देशभर तीनसय बिगाहामा धान खेती गर्दैछौँ’, उनले भने, ‘पाँचसय बिगाहामा धान खेती गर्ने हाम्रो लक्ष्य हो ।’ यहाँबाट उत्पादिन धान तथा चामल काठमाडौं, बुढानिलकण्ठमा पार्टीले सञ्चालन गरेको सीमार्टबाट बिक्री गर्ने योजना रहेको उनले बताए । ‘पार्टीका पूर्णकालीन कार्यकर्तालाई पनि दिनेछौं, सीमार्टमा राखेर पनि बेच्नेछौं’, उनले भने ।
यो कार्यक्रमबाट स्थानीय स्तरमा कृषि उत्पादन वृद्धि गर्नु, उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्नु, श्रमप्रतिको सम्मान र राष्ट्रिय उत्पादनप्रति जिम्मेवारी बोध गराउने अपेक्षा गरिएको छ ।




