| मङ्लबार, कार्तिक २४, २०८३

यो शासन व्यवस्था र संविधान जोगाउनु हाम्रो दायित्व हो : प्रचण्ड

पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले संविधान सभाबाट घोषणा भएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान र यो शासन व्यवस्थाको रक्षा गर्न अपिल गरेका छन् । गोरखाको सहिद लखन गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन सभामा बोल्दै उनले यो शासन व्यवस्थाप्रति नकारात्मक भाष्य निर्माण गर्ने दुश्प्रयास भइरहेकाले यसको प्रतिवाद गर्न पनि आग्रह गरेका छन् ।

‘हामी सबैको दशकौं लामो संघर्ष र धेरैको बलिदानीपछि मात्रै महिला, दलित, आदिवासी, मजदुर, किसान, सबै बर्ग क्षेत्र, समुदायको पहिचान र अधिकारसहित यो संविधानले प्रदान गरेको छ तर, अहिले कताकता संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रश्न उठाउने प्रयास भइरहेको छ’, उनले भने, ‘यसको रक्षाका लागि हामी फेरि एकतावद्ध भएर अगाडि बढ्नैपर्छ । तर मुख्य कुरा जनताका समस्या समाधान गर्ने कुरामा जनतालाई सुशासन, सामाजिक न्याय र आर्थिक विकास दिने कुरा महत्वपूर्ण छ । हामी अझ पनि त्यसमा केन्द्रित हुन जरुरी छ । मलाई लाग्दैन कि अहिले यो संविधान र यो सिस्टमका बिरोधीहरु सफल हुनेछन् । यो अहिले संभावना छैन ।’

नागरिकलाई सुशासन दिएर यसको प्रतिवाद गर्न सकिने उनले विश्वास ब्यक्त गरे । ‘हामीले जनतालाई सकारात्मक परिणाम दिँदै गयौँ भने विपक्षीहरु त्यत्तिकै बिलाएर जान्छन् । तैपनि हामी सतर्क हुनुपर्ने आवश्यकता छ’, उनले भने, ‘अहिले कतै न कतैबाट नेगेटिभ भाष्य बनाउने कोषि भइरहेको छ । नेपालका सबै खत्तम, नेपालमा केही पनि हुदैन । नेपालमा केही पनि छैन भन्ने जस्तो भाष्य बनाउने जस्तो गलत कुरा अरु केही हुनै सक्दैन ।’

नेपाल सुन्दर र प्राकृतिक स्रोत साधनले भरिपूर्ण छ भन्दै उनले यसको सदुपयोगले सुन्दर, शान्त, संवृद्ध नेपाल निर्माण गर्न उनले आग्रह गरे । ‘संसारका सबैभन्दा धेरै चिज भएको देश हो नेपाल । नेपालीहरु निकै मिहिनेती पनि छन् तर, केही समयदेखि हाम्रो मानसिकता बिग्रिने, हाम्रो भाषा बिग्रिने, हामीले देशलाई माया गर्नुपर्ने, यहीँ मिहिनेत गर्नुपर्ने त्यसमा भने बिचलन आएको हो कि ? यसमा समीक्षा गर्न जरुरी छ ।’

सोही कार्यक्रममा बोल्दै उनले बूढीगण्डकी जलविद्युत आयोजना बन्ने र बन्नैपर्नेमा जोड दिए ।

‘बूढीगण्डकी जलविद्युत कम्पनीको सम्पर्क कार्यालय मैले नै उद्घाटन गरेको हो । मेरो पालामा बूढीगण्डकी मोडालिटीको बारेमा जति धेरै बैठक अरु बिषयमा भएन’, उनले भने, ‘त्यसैले बूढीगण्डकी बन्छ, बनाउनै पर्छ । मलाई थाहा छ, जनतालाई धेरै पीडा भएको छ । यो अनिर्णयको अबस्था धेरै लामो रहनु हुदैन ।’

प्रतिक्रिया दिनुहोस्