| बुधबार, असार ९, २०८३

मनासलु क्षेत्रमा १२ हजार भन्दा धेरै पर्यटक

चालु आर्थिक वर्षमा मनास्लु क्षेत्रमा अहिलेसम्मकै धेरै पर्यटक भित्रिएका छन् । बैशाखसम्ममा १२ हजार २५९ जना बिदेशी पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले जनाएको छ । एमक्याप प्रमुख सन्तोष शेरचनका अनुसार यो संख्या अहिलेसम्मकै धेरै हो ।

अभिलेख अनुसार आर्थिक वर्ष २०८०÷८१ मा ९ हजार ७८२ जना पर्यटक मनासलु क्षेत्र भ्रमण गरेका थिए । आर्थिक वर्ष २०७९÷८० मा ७ हजार ७०५ र आर्थिक वर्ष ०७८÷७९ मा २ हजार २८४ जना पर्यटकले मात्र उक्त क्षेत्र भ्रमण गरेका थिए । वर्षेनी पर्यटकको सङख्यामा बृद्धि हुदैँ जानु सुखद पक्ष भएको शेरचनले बताए ।

एमक्यापले आर्थिक बर्ष २०८१÷८२ मा साँढे १२ हजार पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो । ९८.०७ प्रतिशत लक्ष्य प्राप्त भएको बताइएको छ । चालु आथिएक वर्ष २०८१÷८२ मा लक्ष्य भन्दा धेरै पर्यटन भित्रन सक्ने अनुमान रहेको एमक्यापले जनाएको छ ।

‘कोभिडका बेला र त्यसपछि पनि पर्यटकको संख्या ज्यादै न्यून थियोे,’ आयोजना प्रमुख शेरचनले भने, ‘आव २०७७÷०७८ मा सबैभन्दा कम अर्थात जम्मा एकसय ९४ जना पर्यटक मात्र सो क्षेत्रमा पुगेका थिए ।’ सो क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या आर्थिकवर्ष २०७६÷०७७ मा ५ हजार ३३८ र २०७५÷७६ मा ७ हजार ६५५ जना रहेको थियो ।

मनास्लु क्षेत्र प्रवेशका लागि सार्क राष्टूका पर्यटकले प्रतिब्यक्ति एक हजार र अन्य राष्टूका पर्यटकले तीन हजार रुपैयाँ बुझाउनु पर्ने व्यवस्था छ । पर्यटकले काठमाडौको भृकुटीमण्डप र पोखराको ड्यामसाईटस्थित काउन्टरमा प्रवेश दस्तुर बुझाउनु पर्ने प्रावधान छ । यी दुबै ठाउँमा प्रबेश दस्तुर शुल्क नबुझाएका पर्यटकले सो क्षेत्र प्रवेश गर्न एमक्यापको जगत र सामागाउँस्थित चेकपोष्टमा दोब्बर दस्तुर तिर्नुपर्ने एमक्याप प्रमुख शेरचनले बताए ।

निषेधित क्षेत्र मानिएकाले मनास्लु संरक्षण क्षेत्र भ्रमणका लागि पर्यटकले अध्यागमन विभागबाट पनि अनुमति लिनुपर्ने प्रावधान छ ।
विभागले चुम र नुब्री भ्याली भ्रमणका लागि एक हप्ताको अनुमति दिने गर्दछ । उक्त अवधिभर चुमभ्यालीका लागि सिजनमा पर्यटकले प्रति व्यक्ति ५० डलर बुझाउनुपर्ने हुन्छ भने बेसिजनमा २५ डलर मात्र ।

त्यस्तै नुव्री भ्यालीका लागि सिजनमा प्रति व्यक्ति ७० डलर र बेसिजनमा ३५ डलर बुझाउनुपर्ने प्रावधान छ । एकहप्ता बाहेक थप दिन भ्रमण गर्न चाहेमा थप शुल्क बुझाउन पर्नेछ हुन्छ ।

मनास्लु क्षेत्र अन्तर्गत चुमनुब्री गाउँपालिकाको सात वटा वडा पर्दछन् ।
साविकका सिर्दिबास, ल्हो, प्रोक, बिही, सामागाउँ, चुम्चेत र छेकम्पार गाविसलाई संरक्षण क्षेत्रले समेटेको छ ।

प्रतिक्रिया दिनुहोस्