
सिम्जुङ घ्याच्चोक सडक कालोपत्रेको काम अन्तिम चरणमा
सिम्जुङ घ्याच्चोक सडक कालोपत्रे गर्ने काम हालसम्म ९० प्रतिशत सम्पन्न भएको छ । अजिरकोट गाउँपालिका ४ र १ अन्तरगत पर्ने सो सडक कालोपत्रेको काम अन्तिम चरणमा पुगेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
कालोपत्रेका लागि एमएस कर्न नवकान्तिपुर जेभीसँग २०८० असारमा ठेक्का सम्झौँता भएको पूर्वधार विकास कार्यालयका इन्जिनियर कपिल काप्रीले बताए । आगामि असार मसान्तभित्रमा निर्माण सम्पन्न हुनुपर्ने सडक कालोपत्रेको हालसम्म ९० प्रतिशत काम सम्पन्न भइसकेको उनले जानकारी दिए । निर्धारित समयभित्र कालोपत्रेको काम सम्पन्न हुनेगरी धमाधम काम संचालन भइरहेको उनको भनाइ छ ।
‘ग्याविन जाली भर्ने, पर्खाल र नाला निर्माण र सडक ढलानको काम सम्पन्न भईसकेको छ,’ इन्जिनियर काप्रीले भने, ‘सडक फर्निचर र टूाफिक सुरक्षा, बायो इन्जिनियरिङका कार्यहरु भने सडक कालोपत्रे भएपछि गर्छौ ।’
कुल ७.३ किलोमिटरको उक्त खण्डमध्ये ५.७ किलोमिटर कालोपत्रे र बाँकी १.६ किमी ढलान हुने उनले बताएका छन् । उनका अनुसार हालसम्म २.६ किलोमिटर सडक कालोपत्रेको कामसम्पन्न भईसकेको छ । ‘असफाल्ट प्रविधिको कालोपत्रे हुने हो, यो अहिले नेपालमा चलेको कालोपत्रेका प्रकारमध्येको उत्कृष्टमा पर्छ,’ काप्रीले भने ।
अहिलेको कामको प्रगति अनुसार निर्धारित समयमै काम सम्पन्न हुने कार्यालयले जनाएको छ । संघ तथा प्रदेश सरकारको ५०÷५० प्रतिशत लागत सहभागितामा सडक कालोपत्रे हुन लागेको हो । समपुरक बजेट अन्तरगत कुल ३६ करोड ४७ लाख लागतमा सडक कालोपत्रे हुन लागेको कार्यालयले जनाएको छ । सडक कालोपत्रे भएसँगै महभिर, घ्याच्चोक, सिम्जुङ लगायतका स्थानीयलाई आउजाउमा निकै सहज हुने बताइएको छ । कालोपत्रे भएसँगै सडकको धुलो र धुवाँबाट पनि मुक्ति पाउने भन्दै स्थानीय खुशी देखिन्छन् ।




