| मङ्लबार, कार्तिक २४, २०८३

गन्धर्व महिलालाई लक्षित गरी चार दिने नेतृत्व विकास तालिम

गोरखामा गन्धर्व समुदायको महिलाहरुलाई लक्षित गरी चार दिने नेतृत्व विकास तालिम संचालन गरिएको छ । चार दिनसम्म संचालन हुने तालिमको आइतबार औपचारिक कार्यक्रमका बीच उद्घाटन भएको हो । गन्धर्व महिला समूहको आयोजना र गोरखा नगरपालिकाको आर्थिक सहयोगमा तालिम संचालन संचालन भएको हो । समुदायमा पछाडि पारिएका गन्धर्व समुदायका महिलाहरुको क्षमता बढाएर समग्र समुदायको विकास गर्ने लक्ष्य सहित तालिम आयोजना गरिएको गोरखा नगरपालिकाकी नगर कार्यपालिका सदस्य समेत रहेकी पम्फा गान्धारीले बताइन् । नेतृत्व विकास तालिममा गन्धर्व समुदायको ४० जना महिलाहरुले सहभागिता जनाएको उनले जानकारी दिइन् ।
महिलाहरुको नेतृत्व विकास, दलित समुदायको अधिकार, महिला सशक्तिकरण र कानुनी हक लगायतका विषयमा तालिम प्रदान गरिने उनको भनाइ छ । गोरखा नगरपालिका वडा नं ७ का वडाध्यक्ष विष्णुप्रसाद श्रेष्ठले तालिमको उद्घाटन गरेका थिए । गन्धर्व महिला समूह गोरखाकी अध्यक्ष दुर्गादेवी गान्धारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी भरतबहादुर विक, गोरखा नगरपालिका वडा नं ७ का वडाध्यक्ष विष्णुप्रसाद श्रेष्ठ, अधिवक्ता स्थानेश्वर दुवाडी, गोरखा नगरपालिकाको सामाजिक विकास शाखा प्रमुख विजयभक्त उपाध्याय र गोरखा नगरपालिकाको कार्यपालिका सदस्य पम्फा गान्धारी लगायतको उपस्थिति रहेको थियो । तालिम आउँदो बुधबारसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्