
दुर्गम बस्तीमा पुगेर बैँकले दिन्छ बृद्धभत्ता
गोरखाको सुदूर उत्तरी चुमनुब्री गाउँपालिकाका दुरदराजमा पुगेर बैँकले बृद्धभत्ता दिने गरेको छ । सुगम क्षेत्रका वैँकले घुम्ति शिविरबाट दिन नसकेको सेवा दुर्गमको कुमारी बैँकको चुमनुब्री शाखाले चुमनुब्री गाउँपालिकाभित्रका सबै वडाहरुमा पुगेर बृद्धभत्ता वितरण गर्ने गरेको हो ।
पालिकाको निर्णय अनुसार हरेक ६(६ महिनामा गाउँगाउँ पुगरे बृद्धभत्ता वितरण गर्ने गरेको कुमारी बैँक चुमनुब्री शाखाका शाखा प्रमुख इश्वरी न्यौपानेले बताए । उनका अनुसार कुमारी बैँकको फिलिममा अवस्थित शाखाले विगत ५ वर्षदेखि घुम्ती शिविरमार्फत सामाजिक सुरक्षा भत्ता बाँड्न सुरु गरेको हो । पालिकाको आयोजना र सहजिकरणमा बैँकले घुम्ती शिविर सुरु गरेको उनले जानकारी दिए ।
‘पालिकाको केन्द्र र हाम्रो शाखाको कार्यालय समेत रहेको चुमनुब्री गाउँपालिका वडा नं ३ सिर्दिबास बाहेक अन्य ६ वडाहरुमा घुम्ती सेवा संचालन हुन्छ’, न्यौपानेले भने, ‘हामीले साम्दोसम्म पुगेर यो सेवा दिईरहेका छौँ ।’
आफूहरुले पालिकाको निर्देशन अनुसार बैँकको कामको अनुकुलता मिलाएर घुम्ती शिविर दिने गरेको उनको भनाई छ । हाल बैँकले पालिकाभर आठसय भन्दा धेरै बृद्ध तथा अपाङ्गता भत्ता वितरण गर्दै आइरहेको शाखा प्रमुख इश्वरी न्यौपानेले बताएका छन् । बैँकले वडा वडामा आएर बृद्धभत्ता वितरण गर्न सुरु गरेसँगै पालिकाबासीलाई धेरै राहात मिलेको चुमनुब्री गाउँपालिका(२, ल्होका वडाअध्यक्ष मिङग्युर दोर्जे लामाले बताएका छन् । उनी भन्छन्, ‘हाम्रो वडाको कतिपय गाउँहरुबाट पालिकाको केन्द्रसम्म पुग्न ३÷४ दिनसम्म हिँड्नु पर्छ । भत्ता २४ हजार आउँछ, भत्ता बुझ्न फिलिमसम्म पुग्दा १२(१३ हजार बाटो खर्चमै जान्छ ।
यसरी गाउँमै आएर भत्ता दिन सुरु गरेदेखि बृद्धबृद्धा तथा अपाङ्गता भएका व्यक्तिहरुलाई धेरै राहत भएको छ ।’ ल्होबाट मात्र करिब ११० जना सामाजिक सुरक्षा भत्ता लिने व्यक्तिहरु रहेको वडाअध्यक्ष मिङग्युर दोर्जेको भनाई छ ।




