
ताकुकोट हुँडीखोला सडकखण्डमा सवारी आवागमनमा रोक
बारपाक सुलिकोट गाउँपालिका–६ ताकुकोटदेखि हुँडीखोला जोड्ने सडक बन्द भएको छ । स्तरोन्नतीको क्रममा कालोपत्रे गर्न लागिएकाले बिहीवारबाट उक्त सडकमा सवारी आवागमन बन्द गरिएको पालिकाले जनाएको छ ।
‘उक्त सडकको चौडाई कम भएका कारण बैकल्पिक रुपमा डाइभर्सनको व्यवस्था गर्न सकिने अवस्था छैन’ पालिकाले भनेको छ, ‘यस अवस्थामा सवारी आवागमनलाई पूर्ण रुपमा रोक्न नसकिएमा कालोपत्रेको तयारी अवस्थामा रहेको सडक सतह बिग्रिने, निर्माण कार्यमा अवरोध उत्पन्न हुने उच्च सम्भावना रहेकाले सवारी साधनहरुको आवागमन पूर्ण रुपमा बन्द गरिएको हो ।’ कालोपत्रे कार्य सम्पन्न नहुँदा सम्मका लागि बैकल्पिक मार्ग प्रयोग गर्न पालिकाले आग्रह समेत गरेको छ ।
उक्त सडक कालोपत्रेको समयमा सवारी आवतजावत पूर्ण रुपमा प्रतिवन्ध लगाई अन्य बैकल्पिक मार्ग प्रयोग गर्ने व्यवस्था मिलाईदिन भन्दै गोरखा सडक योजनाले पालिकालाई पत्राचार समेत गरेको थियो । सोही पत्रको आधारमा पालिकाले सार्वजनिक सुचना जारी गर्दै कालोपत्रे सम्पन्न नभएसम्मका लागि सो सडकखण्डमा सवारी आउजाउ पूर्ण रुपमा बन्द रहने जनाएको हो ।




