
मानव अधिकार रक्षकहरुको क्षमता विकास कार्यक्रम सम्पन्न
गोरखामा मानव अधिकार रक्षकहरुको क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ । बिहीबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजना तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गण्डकी प्रदेश पोखराको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।
इन्सेकले ‘मानव अधिकार रक्षक र उनीहरुको अधिकार’ विषयक अभिमुखीकरण गरेर क्षमता विकास कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा मानव अधिकार रक्षकहरुको भुमिका र चुनौतीबारे चर्चा भएको थियो । राज्य जतिबेला पनि निरङ्कुश हुन सक्ने भएकाले मानव अधिकार रक्षकहरुको क्षमता विकास गराउने उद्देश्य सहित कार्यक्रम संचालन गरिएको आयोजक इन्सेक गण्डकी प्रदेशको भनाई छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गण्डकी प्रदेश, कानुन महाशाखाका प्रदेश सुरक प्रसाद शर्मा पौडेलको अध्यक्षता एवं जिल्ला समन्वय समितिका प्रमुख मोहन थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको क्षमता विकास कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल, गोरखा नगरपालिकाका नगरप्रमुख कृष्ण राना मगर, शुरक्षा निकायका प्रमुख, जिल्ला स्थित विभिन्न संघ संगठनहरुको प्रमुख एवं प्रतिनिधिहरु, मानव अधिकारकर्मी, संचारकर्मी लगायतले सहभागिता जनाएको थियो ।




